नर्वेका राजदूतले भनेः नेपालले नोबेल शान्ति पुरस्कार पाउनुपर्छ

काठमाडौं, असार ३० । नर्वेका राजदूत चेल टोरमोड पिटर्सेनले नेपालले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन् । शुक्रबार अपराह्न उपराष्ट्रपतिको कार्यालय, कान्तिपथमा उपराष्ट्रपति नन्दकिशाेर पुनसँगको विदाई भेटका क्रममा राजदूत टोरमोडले सो कुरा बताएका हुन् । आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका हुन् ।

उपराष्ट्रपतिले नर्वेका राजदूतसँगको भेटमा नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणमा नर्वेको ठूलो सहयोग रहेको बताए। उनले राजदूत पोटर्सेनको कार्यकालमा नेपाल–नर्वे सम्बन्ध थप सुदृढ भएको बताउँदै धन्यवाद दिए । भेटमा उपराष्ट्रपतिले स्थानीय तहको दुई चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र स्थानीय तहको तेस्रो चरण, प्रदेश र संघको निर्वाचनपछि नेपालले पूर्ण राजनीतिक स्थायित्व हासिल गर्ने बताए। उनले सबै चरणको निर्वाचन सम्पन्न भएपछि नेपाल समृद्धिको मार्गमा द्रुत गतिमा अगाडि बढ्ने बताए।

नेपाल बसाइमा राजदूत पोटर्सेनले आफ्नो चार वर्षे कार्यकाल अत्यन्त फलदायी भएको बताए ।

नेपाल शान्ति प्रक्रियाका लागि विश्वकै नयाँ उदाहरण भएको उल्लेख गर्दै नेपालले नोबल शान्ति पुरस्कार पाउनुपर्ने बताए। उपराष्ट्रपतिले नेपाली ढाका टोपी लगाई दिएर नर्वेका राजदूतलाई बिदाइ गरे।

कमेन्ट गर्नुहोस्