काठमाडौंको पिउने पानीमा दिसामा पाइने जिवाणु, सर्तक रहन अनुरोध

काठमाडौं, असार ३० । काठमाडौंमा दैनिक २५ जना झाडापखालाका विरामी अस्पताल भर्ना हुने गरेको भेटिएको छ । साथै काठमाडौंबासीले प्रयोग गर्ने ६६ प्रतिशत खानेपानीमा कोलिफर्म अर्थात दिसा मिसिएको भेटिएको छ ।

काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न सहयोगी संस्थाहरुसित मिलेर पानी शुद्धिकरण सम्बन्धि जाच गर्ने क्रममा काठमाडौका पाउने झण्डै ६६ प्रतिशत पानीमा कोर्लिर्फमको जिवाणु भेटिएको जनाएको छ । शहरी वातावरण व्यवस्थापन समाजको सहयोगमा १३ सय घरधुरीमा प्रयोग गरिने करिब ६६ प्रतिशत पानीमा कोर्लिर्फमको जिवाणु भेटिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र बहादुर श्रेष्ठ भन्छन्, ‘पानीमा कोलिर्फम हुनु भनेको पानीमा कुनै न कुनै बेला दिशा मिसिएको छ भन्नु हो ।’

यसले काठमाडौंमा कुनै पनि बेला झाडापखालाको महामारी फैलिन सक्ने खतरा औल्याएको छ ।

ललितपुरमा ५० प्रतिशत तथा भक्तपुरको ७३ प्रतिशत पिउने पानीमा कोर्लिर्फमको जिवाणु भेटिएको शहरी वातावरण व्यवस्थापन समाजका सदस्य बुद्ध बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार समाजले पाटनको मंगलबजार, सुन्धारा, थैव, काठमाडौमा टंकेश्वरी, मरु, माटनका भित्री क्षेत्र, पाटनका भित्री क्षेत्र, सुकम्वासी एरिया, मनोहरा, पाथीभरा क्षेत्रमा पानी जाँच गरेको थियो । त्यस क्षेत्रका इनार, धारा, ढुङ्गेधारा, ट्यांकर, जारको पानी लगायतमा कोलिफर्मको जिवाणु भेटिएको समाजका सदस्य बुद्ध बज्राचार्यले बताए ।

उनले भने, ‘हामीले विभिन्न ठाउँहरुमा पानी शुद्धिकरणका लागि बुथ नै राखेर पानीको नमुना परिक्षण गरेका थियौं । परीक्षणका क्रममा काठमाडौं जिल्लाको मात्र ६६ प्रतिशत पानीमा कोलिर्फमको जिवाणु भेटिएको पाइएको छ ।’

कार्यक्रममा काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयुकेएलका ल्याब प्रमुख ज्ञानेन्द्र बहादुर कार्कीले झाडापखालाको लगायतका ८० प्रतिशत रोग पानीकै कारण लाग्ने हुदाँ यसबारे विशेष सजग रहन सबैलाई आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्