बस र ट्रक ठोक्किँदा ३१ जना घाइते

धादिङ, असार ३१ । शनिबार बिहान यात्रुवाहक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं.९ खटौटीमा ३१ जना घाइते भएका छन् ।

महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना.५.ख ५०२ नं.को यात्रु बस र अर्को दिशातर्फबाट जाँदै गरेको ना.६.ख १२४ नं.को मालबाहक ट्रक ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले बताए ।

दुर्घटनामा बस र ट्रक दुबैका चालकसहित ३१ जना घाइते भएकोले राजमार्ग सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ । गम्भीर घाइते तीन जनाको थप उपचारका लागि काठमाडौं पठाइएको छ । दुबै गाडीका चालक घाइते भएकोले दुर्घटनाका कारण खुलेको छैन ।

कमेन्ट गर्नुहोस्