एक ढिक्का भएर पार्टीलार्इ अगाडि बढाउन अाग्रह: नेता सिंह

कास्की, असार ३१ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउन आग्रह गरेको छ ।

नेपाली कांग्रेसका नेता रामहरि जोशीको असामयिक निधनमा कास्की कांग्रेसद्वारा शनिबार पोखरामा आयोजित शोक सभामा नेता सिंहले स्थानीय तहको निर्वाचनमा सोचेजस्तो परिणाम नआएपनि प्रदेश तथा केन्द्रीय तहको निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा स्थापित गर्न सबैको सामूहिक प्रयासको खाँचो औँंल्याए ।

उनले नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएको र कांग्रेसकै नेतृत्वमा संविधानको कार्यान्वयन र संस्थागत विकास गर्न पार्टीको काँधमा गहन जिम्मेवारी थपिएको बताए । नेता सिंहले व्यवस्था परिवर्तनका लागि हुने आन्दोलनमा सबै राजनीतिक दल एक भएझै आर्थिक समृद्धि र विकासका लागि पनि सबै राजनीतिक दलको एकता अपरिहार्य भएको धारणा राखे ।

उनले काँग्रेसका नेता स्व रामहरि जोशीले देखाएको बाटो अवलम्बन गरेमात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि गरेको ठहर्ने विचार व्यक्त गरे । यसअघि कास्कीका पार्टी सभापति कृष्ण केसीले स्व रामहरि जोशीको योगदानमाथि प्रकाश पारेको थियो ।

कार्यक्रममा कांग्रेसका नेता चन्द्र भण्डारी, दीपक गिरी, एनपी साउद, शंकर भण्डारी र पार्टीका कार्यकर्ता सहभागी रहेको थियो ।

कमेन्ट गर्नुहोस्