साहित्य चौतारीद्वारा ५५५५५ पत्रकार उपचार कोषलाई दिने घोषणा

बिर्तामोड, असार ३१ । बिर्तामोड–५ स्थित साहित्य चौतारी झापाले पत्रकार सहारा उपचार कोषलाई ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

आज शनिवार २०४ अौँ भानु जयन्ती तथा साहित्य चौतारीको १८औं वार्षिकोत्सव समारोहको अवसर पारेर उक्त घोषणा गरिएको हो । साहित्य चौतारीका प्रमुख संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, उर्मिला श्रेष्ठ तथा अध्यक्ष टंक विकल्प र सल्लाहकार समितिका अध्यक्ष शिवशंकर थापाले उक्त रकम प्रदान गर्ने घोषणा गर्दै पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरीलाई हस्ताक्षरसहितको प्रतिबद्धता पत्र हस्तान्तरण गरे ।

साहित्य चौतारीका प्रमुख संस्थापक संरक्षक श्रेष्ठले नागरिकलाई सूचना प्रवाहका लागि अहोरात्र खट्ने पत्रकारको उपचारमा प्रत्यक्ष सहयोग गर्नका लागि कोषमा उक्त रकम प्रदान गर्न लागिएको बताए ।

साहित्य चौतारीले यसअघि पनि पत्रकार महसंघको भवन निर्माणका लागि १ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको थियो ।

महासंघका उपाध्यक्ष तथा कोषका संयोजक गिरीले पत्रकारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले १ करोड रुपैयाँको उपचार कोष स्थापनाको लागि पत्रकार महासंघले सञ्चालन गरेको अभियानमा साहित्य चौतारीले गरेको सहयोगको सराहनासहित धन्यवाद ज्ञापन गरे ।

कोषको ब्याजबाट पत्रकारको उपचारमा सहयोग गरिने बताइएको छ । साहित्य चौतारीले कोषलाई सहयोग घोषणा गरेकोमा प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, पत्रकारहरु धर्मेन्द्र मामा, इन्द्र पूर्वेली, तुलसीप्रसाद निरौला, रेजिना रोदन लगायतले समेत धन्यवाद ज्ञापन गरेका थिए ।

श्रेष्ठ दम्पत्तीले आफ्ना स्व. मातापिता भीमबहादर–पञ्चकुमारी श्रेष्ठ र धनमाया विमलीको स्मृतिमा २०५६ सालमा साहित्य चौतारी स्थापना गरेका हुन् । उक्त संस्थाले नेपाली लोकसंस्कृति, भाषा–साहित्यको उत्थानका साथै सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम होटल हिकोला हेरिटेजको साहित्य चौतारी सभाहलमा भएको थियो ।

कमेन्ट गर्नुहोस्