बाढी र भेलमा डुबेर सात बालबालिकाको मृत्यु, कयौं प्रभावित

काठमाडौं, असार ३१ । लगातारको वर्षापछि देशका विभिन्न ठाउँमा आएको बाढी र भेलमा डुबेर सात बालबालिकाको मृत्यु भएको छ । काठमाडौं, संखुवासभा, कैलाली, सिरहा, कास्की, गोरखा र तनहुँमा भएको छुट्टाछुट्टै घटनामा सात बालबालिकाको मृत्यु हुनुका साथै एक पुरुष बेपत्ता भएका छन् ।

काठमाडौंको चौमती बस्ने झम्कनाथ फुयालकी ११ वर्षीया छोरी बिनिता फुयालको तार्केश्वर नगरपालिका–११ नेपालटारस्थित महादेव खोलाले बगाएर मृत्यु भएका छ ।

यस्तै, गोरखा गण्डकी गाउँपालिका–८ सिउरेनीटार घ्यालचोक बस्ने हरिमान श्रेष्ठको छोरा १० वर्षीय संदीप श्रेष्ठको बुढीगण्डकी नदी र त्रिशुली नदीको दोभानमा पौडी खेल्ने क्रममा नदीले बगाएर मृत्यु भएको छ । नदीमा बग्दै गरेका सन्दीपलाई स्थानीयले उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी धादिङ लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, कास्कीको पोखरा लेखनाथ महानगरपालिका–३२ मझुवास्थित माटो निकाल्न खनेको खाडलमा पानी जम्मा भएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तनहुँ, शुक्लागण्डकी नगरपालिका–२ कोत्रे बस्ने लेखबहादुर गुरुङका छोरा १५ वर्षीय उज्जल गुरुङको मृत्यु भएको छ ।

त्यस्तै, संखुवासभाको खाँदवारी नगरपालिका–९ बाङगे टोल डेरा गरी बस्ने भोजपुरका भीमबहादुर कुमालका ४ वर्षीय छोरा कुशलको खेल्ने क्रममा जयराम कुमालको इँटा भिजाउने पोखरीमा डुबेर विहान मृत्यु भएको छ ।

यस्तै, कैलालीको जानकी गाउँपालिका–१ दुर्गौली बस्ने शेरबहादुर थापाका १८ महिनाका छोरा पुष्प थापाको घर अगाडिको कुलोमा डुबेर मृत्यु भएको छ ।

त्यसैगरी, आफ्नै कलको पानी जम्ने खाल्डोमा डुबिरहेको अवस्थामा फेला परेका सिरहा नगरपालिका २१ बस्ने सुलिन दासका ३ वर्षीय छोरा अजित दासको जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाकै वडा नम्बर १४ बिपि मार्ग बस्ने देवराज गुरुङकी छोरी ६ वर्षीया सायरा गुरुङको पानीट्याङकीमा डुबेर मृत्यु भएको छ ।

यता, तनहुँको ब्यास नगरपालिका–१४ मास्दीघाटस्थित सेती नदीमा नयाँ झोलुङगे पुल बनाउनको लागि लठ्ठा तान्ने क्रममा हाल नाम, थर, वतन नखुलेका चितवन घर बताउने पुरुष सेती नदीमा खसेर बेपत्ता भएका छन् ।

कमेन्ट गर्नुहोस्