शर्मासँगै दुईजनाविरुद्ध १० अर्ब बढी बिगो मागसहित मुद्धा दायर

काठमाडौं, साउन १ । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १० अर्ब ९६ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आइतबार विशेष अदालतमा शर्मासहित तीन जनालाई १० अर्ब ९६ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएको हो । कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, शर्मा र सदस्य उमेश ढकालविरुद्ध मुद्धा दायर भएको हो । महत र ढकाल भने फरार छन् ।

कर फ्छ्र्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम गरेको नदेखिएको भन्दै अख्तियालर छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गरेको बताइएको छ ।

बिगो र जरिवाना मागदाबी गरेको कुल रकम जोड्ने हो भने झन्डै ३३ अर्बको हाराहारीमा हुनेछ । भ्रष्टाचार निवारण ऐनको दफा ७ मा राजस्व चुहावटसम्बन्धी आरोप पुष्टि भए बिगो र त्यसको दोब्बर बराबर जरिवाना हुने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्