वीपी राजमार्गमा राती गाडी चलाउन नपाइने

काठमडौं, साउन १ । यातायात व्यवस्था विभागले आइतबारबाट लामा दूरीमा चल्ने सार्वजनिक सवारीका लागि विभिन्न नयाँ नियमहरु ल्याएको छ ।

अत्याधिक सडक दुर्घटना बढेकाले दुर्घटनालाई न्यूनीकरण गर्न सरकारले विशेष नियम ल्याएको हो । जसअन्तर्गत सरकारले आजैदेखि बीपी राजमार्गमा रातिको समयमा सार्वजनिक सवारी चलाउन नदिने भएको छ ।

यो राजमार्गमा रातको समयमा बढी दुर्घटना भएकाले बेलुका ६ बजेदेखि विहान ५ बजेसम्म सार्वजनिक सवारी चल्न रोक लगाइएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । रातको समयमा रुट पर्मिट नभएका सवारी पनि चल्दा दूर्घटनाको जोखिम बढेको र सडकको अवस्था पनि बिग्रने स्थिति आएकाले यस्तो नियम ल्याइएको हो ।

यसैगरी आइतबारदेखि नै लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधनले गोंगबु तथा पुरानो बसपार्कलाई नै आगमन तथा प्रस्थानको विन्दु बनाउनुपर्ने भएको छ । सोही नियम विपरित नयाँ बसपार्कबाट छुटेका सवारी जोरपाटी र कोटेश्वर हुँदै कलंकी आए ट्राफिक तथा यातायात व्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना समेत लगाउने भएको छ ।

कमेन्ट गर्नुहोस्