अखिल क्रान्तिकारीद्वारा सशक्त आन्दोलनको चेतावनी

काठमाडौं, साउन १ । अखिल नेपाल रष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तीकारी) ले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान(आइओइ) अन्तर्गतका सवै कलेजमा वृद्धि गरिएको भर्ना र परीक्षा शुल्क तत्काल फिर्ता नलिए देशभरका इन्जिनियरिङ कलेजहरुमा सशक्त आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ ।

संगठनका अध्यक्ष नरेन्द्र न्यौपानेद्वारा जारी विज्ञप्ती इन्जिनियरिङ अध्ययन संस्थानले विद्यार्थीको ढाड सेक्ने गरी भर्ना र परीक्षा शुल्कमा गरेको चर्को शुल्कवृद्धिका विरुद्ध विगत चारदिन देखि पुर्वाञ्चल क्याम्पस, धरानमा जारी आमरण अनसनप्रति त्रिवि, डिन कार्यालय र क्याम्पस प्रशासनको गैरजिम्मेवारपुर्ण उदानसिनताप्रति आफ्नो संगठनको गम्भीर आपत्ति रहेको जनाएका छन् ।

विज्ञप्तीमा अखिल क्रान्तिकारीका नेता कृष्णराज न्यौपाने र नेविसंघका नेता सरोज अधिकारीको स्वास्थ्य स्थिति दिनप्रतिदिन नाजुक वन्दै जांदा पनि सम्वन्धित निकायबाट देखाइएको गैरजिम्मेवारपूर्ण व्यवहारले आफुहरुलाई आन्दोलन गर्नु बाध्य पारेको उल्लेख छ ।

आन्दोलनको समर्थनमा आज पुर्वाञ्चल क्याम्पसका सयौं विद्यार्थीले क्याम्पसवाट निस्किएर धरान भानु चौक पुगी विशाल जुलुस प्रदर्शन भएको थियो ।

त्रिवि अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका क्रान्तिकारी र नेविसंघ आन्दोलित भएका हुन ।

चारदिनदेखि क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै आन्दोलनमा ओर्लिएका विद्यार्थीले अरु विद्यार्थीको अध्ययन र अध्यापनमा बाधा पुग्ने भन्दै प्रशासनको तालाबन्दी खोलेर ती दुई संगठनले प्रशासन अघिल्तिर आमरण अनशनमा बस्नुपरेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्