माओवादीले कस्ताे बनाउने प्रदेश र केन्द्रको चुनावी तथा संगठनको रणनीति !

काठमाडौं, साउन २  । नेकपा माओवादीकाे संगठन र निर्वाचनबारे छलफल गर्न सचिवालयसहितको बिस्तारित बैठक बस्दै छ ।

मतका आधारमा संविधानसभाको दोश्रो निर्वाचन भन्दा बढी मत प्राप्त गरेपनि स्थानीय तहमा तेश्रो भएपछि बस्न लागेकाे बैठकमा सबै जिल्ला इन्चार्जहरुले जिल्लाको अवस्था, चुनावको समीक्षा र भावी दिनमा केन्द्र र स्थानीय तहमा गरिनुपर्ने काम कारवाहीबारे रिपोर्ट गर्ने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी भित्रिसकेका छन् । यसअघि सम्पन्न सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले जनस्तरमा आफ्ना एजेण्डा स्थापना गर्न नसकेको र संगठनलाई समेत गुणात्मक ढंगल परिचालन गर्न नसकेको निष्कर्श निकालेको थियो । पार्टीको वर्ग आधार रहेका समुदायबाट संसदीय निर्वाचन जित्न कठीन भएको निष्कर्शसहित उक्त बैठकले जिल्लास्तरबाटै रिपोर्टिङ गर्ने गरी इन्चार्जसहितको बैठक गर्नुपर्ने निर्णय गरेको थियो ।

पार्टी हेडक्वार्टर पेरिसडाँडामा बस्ने बैठकका लागि सबैजसो जिल्ला इन्चार्जहरुले जिल्लाको रिपोर्ट तयार गरिसकेको पार्टीले जनाएको छ । पार्टीमा अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राजनीतिक एजेण्डा माओवादीको हुने तर निर्वाचनमा भने माओवादीका पक्षमा जनलहर सिर्जना हुन नसक्नु, पार्टी र संगठन पद्धतीगत ढंगले परिचालन नहुनु, अन्तर्घातको अवस्था, चुनावी अभियान एकीकृत र प्रभावकारी नहुनु, बिरोधीहरुको भ्रम चिर्न र आफ्नै वर्ग आधारको मत समेत जोगाउन नसक्नु जस्ता कतिपय कारणले चुनावमा सोचेजस्तो प्रतिफल प्राप्त नभएको माओवादीको निष्कर्श रहेको छ ।

बैठकपछि पार्टीले प्रदेश र केन्द्रको निर्वाचन तथा संगठनको रणनीति तय गर्ने छ ।

कमेन्ट गर्नुहोस्