गोर्खाल्यान्डमाथी भारत सरकारकाे दादागिरी ! खाद्य संकट सुरु

पशुपतिनगर, साउन २।  बंगाल सरकारले गोर्खाल्यान्डमा नाकाबन्दी लगाएपछि सीमावर्ती क्षेत्रका नागरिक पाँच घन्टासम्म हिँडेर चामल किन्न इलामको पशुपतिनगर, अन्तु, समाल्बुङसम्म आउन थालेका छन् ।

एक महिनादेखि जारी आमहडताल र बंगाल सरकारले तराईबाट पहाडमा अन्न ल्याउन नदिएपछि दार्जिलिङसम्मका सर्वसाधारण नेपाल आएर चामललगायत अत्यावश्यक सामग्री लैजान बाध्य छन् ।

दैनिक पाँच घन्टासम्म हिँडेर भारतीय ग्राहक आउन थालेको सूर्योदय नगरपालिका २ पशुपतिनगरका किसाना पसल सञ्चालक राजकुमार महेश्वरीले बताए । गोर्खाल्यान्ड आन्दोलनपछि सीमापारि मिरिक, दार्जिलिङलगायत क्षेत्रका ग्राहक पशुपतिनगरमा आउने क्रम बढेको बढेको उनले बताए  । धेरै सामग्री भारत लैजान नदिने भएपछि २० किलोसम्म बोकेर फर्किने गरेको उनको भनाइ छ ।

बंगाल सरकारले दार्जिलिङ, सिक्किमसहितको क्षेत्रमा आउने खाद्यान्न रोकेपछि संकट सुरु भएको छ ।

ममता बेनर्जी नेतृत्वमा रहेको बंगाल सरकारले दार्जिलिङ, सिक्किमसहितको क्षेत्रमा आउने खाद्यान्न रोकेपछि मानवीय संकट सुरु भएको मोर्चाका सहसचिव विनय तामाङले बताए । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले राष्ट्रिय राजमार्ग बन्द गर्ने बेनर्जी सरकारको कदमको कडा आलोचना गर्दै ‘चामाल रोक्नेहरू सिक्किमका दुस्मन’ भएको टिप्पणी गरे ।

सिक्किमले गोर्खाल्यान्ड आन्दोलनको खुलेर समर्थन गरेपछि बंगाल सरकारले पहाडी क्षेत्रमा अघोषित नाकाबन्दी लगाएको छ । गोर्खाल्यान्ड आन्दोलनलाई आतंककारी आन्दोलनको संज्ञा दिँदै बंगाल सरकारले तराईबाट भित्रिने खाद्यान्न रोकेपछि दार्जिलिङमा रहेका भरिया, चिया बगानका मजदुर एवं ग्रामीण क्षेत्रका विपन्न परिवार भाकभोकै पर्न थालेका हुन् ।

यसैबीच नाकाबन्दी, इन्टरनेट सेवा बन्द र सातजनाको मृत्यु हुने गरी हालै दार्जिलिङमा भएको घटनाको अध्ययन गर्न भारतको मानवअधिकार आयोगले बेग्लै टोली खटाउन लागेको आयोगका अधिकारकर्मी रेसिका क्षेत्रीले जानकारी दिनुभयो । नाकाबन्दीको कारण चामल, आटा, मैदा, साबुन, तेललगायत सामग्री भारत जाने गरेको सूर्योदय नगरपालिका २ पशुपतिनगरका अध्यक्ष चन्द्र सुब्बाले बताए ।

गोर्खाल्यान्ड आन्दोलन सुरु भएपछि पशुपतिनगरका फेन्सी पसल भने एक महिनादेखि बन्द छन् । सीमावर्ती भारतका ग्राहकले धानेको पशुपतिनगर बजार गोर्खाल्यान्डमा आमहड्ताल भएपछि पूरै सुनसान भएको उद्योग वाणिज्य संघ पशुपतिनगरका अध्यक्ष प्रमोद राईले जानकारी दिए  । दैनिक २० लाख रुपैयाँ हाराहारीमा कारोबार हुने पशुपतिनगरका किरानाबाहेक पसल प्रायः बन्द हुन थालेको उनले बताए । कारोबार बन्द भएपछि व्यापारी विस्थापित हुने सम्भावना बढेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्