राहतको ट्याक्सी नम्बर, बजारमा सातलाखसम्ममा किनबेच

काठमाडौं, साउन २ । २०७२ साल वैशाख १२ गते र त्यसपछि गएको भूकम्पबाट पीडितलाई स्वरोजगारीका लागि सरकारले दिएको ट्याक्सीको नम्बर अहिले दलालमार्फत लाखौं रूपैयाँमा किनबेच भइरहेको छ ।

१४ जिल्लाका भूकम्प पीडितका लागि सरकारले १५ सयवटा ट्याक्सीको नम्बर वितरण गरेको थियो । अहिले यातायात व्यवस्था कार्यालयमा वितरण गरिएका ट्याक्सी दर्ता प्रक्रिया चलिरहेको छ ।

ट्याक्सी दर्ता प्रक्रिया शुरु भएसगैं ट्याक्सीको नम्बर प्लेट किनबेच सुरु भएको छ । काठमाडौंमा ट्याक्सीको नियमित दर्ता बन्द भएकाले भूकम्प पीडितले पाएको ट्याक्सीको एउटा नम्बरका लागि तीनलाखदेखि सातलाखसम्म मा दलालमार्फत किनबेच भएको पाइएको छ ।
यातायात व्यवस्था विभागको एकान्तकुनामा रहेको साना तथा मझौंला सवारी कार्यालयमा अहिलेसम्म भूकम्प पीडितले पाएको नम्बरका ८० वटा ट्याक्सी दर्ता भएका छन् ।

दर्ता भएका ८० मध्ये ५० वटा ट्याक्सी भूकम्प पीडितले विक्री गरी अर्काकै नाममा नामसारी गरिदिएका छन् । काठमाडौं उपत्यकामा यस अघिनै ट्याक्सी दर्ता रोकिए छ तर नामसारी भने रोकिएको थिएन ।
त्यसैको फाइदा उठाउँदै दलालहरुले भूकम्प पीडितलाई सरकारले राहतमा दिएको नम्बर किनेर बढी मूल्यमा विक्री गरिरहेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्