कमैया मुक्ती घोषणाको १७ वर्षसम्म पनि भएन पुनःस्थापना

लोकेश धामी
कैलाली, साउन २ । दासताको कठोर यात्राबाट मुक्त भएको १७ वर्ष पुगे पनि कैलालीका मुक्त कमैयाको वास्तविक पुनःस्थापना हुन अझै सकेको छैन ।

परिचयपत्र पाएका कतिपय मुक्त कमैयालाई बसोबासका लागि सरकारले जग्गा उपलब्ध गराए पनि जिविकोपार्जनका लागि अहिलसम्म समस्या छ ।

तत्कालीन सरकारले वि.सं २०५७ साउन २ गते कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ गरी ५ जिल्लामा रहेका कमैयालाई मुक्त भएको घोषणा गरेको थियो ।

मुक्त भएको १७ वर्ष भयो तर केही थोरै बाहेकले मुक्ति भएको अनुभूति नगरेको मुक्त कमैया दिलरानी चौधरीले बताइन् ।

सरकारले मुक्त गरेपनि पुनस्र्थापनाको काम प्रभावकारीरुपमा नगर्दा समस्या जटिल नै छ भने कतिपय सरकारी लगतमै नसमेटिंदा अवस्था झन वटिल बन्दै छ ।

लगतमै नसमेटिएका छुट मुक्त कमैयाहरु एक ठाउँमा ढुक्कले बस्न नसकेको छुट मुक्त कमैया जितबहादुर चौधरीले गुनासो गरे । कमैयाको क्षेत्रमा काम गर्ने संस्था मुक्त कमैया समाजका अनुसार पाँच जिल्लामा गरी अझै ४ हजार पाँच सय कमैया सरकारको लगतमा छुटेका छन् ।

छुट मुक्त कमैयाको पुनःस्थापना गर्ने भन्ने आश्वासन चुनावका बेला सबैै राजनीतिक दलहरुबाट पाए पनि समस्या भने उस्तै रहेको अर्का छुट मुक्त कमैया कस्तुरिया चौधरीको देखेसो छ ।

कमैया मुक्त गरिसकेपछि पुनस्थापना गर्ने सरकारको कार्यक्रमबाट झण्डै साढे २६ हजार जना पुनस्थापित भएका मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले जानकारी दिए ।

खरिदका लागि ऐलानी पर्ती जग्गा नपाउनु, बसेकै ठाउँमा जग्गा उपलब्ध गराइनुपर्ने मुक्त कमैया माग र जग्गा खरिदका लागि रकम पर्याप्त नहुनुले मुक्त कमैया पुनःस्थापनामा समस्या आएको जिल्ला भूमि सुधार कार्यालय कैलालीका भूमि सुधार अधिकारी लक्ष्मणबहादुर कठायतले बताए।

सरकारले मुक्त कमैयाहरुलाई बसोबासको व्यवस्थाका लागि मात्रै अग्रसरता देखाएकाले कतिपय मुक्त कमैयाको पुनःस्थापनाप्रति असन्तुष्टी समेत रहेको जनाइएको छ ।

पुनःस्थापना हुन बाँकी रहेका र छुटेका मुक्त कमैयाहरुको तत्काल लगत लिएर पुनःस्थापना गरिनु पर्ने मुक्त कमैयाहरुले जोड दिदैं आएका छन् ।

कमेन्ट गर्नुहोस्