रेडियो संचालनका सम्बन्धमा सेनाको प्रष्ट्रीकरण

काठमाडौं, साउन २ । नेपाली सेनाले डोटीको दिपायलमा सञ्चालन गर्न लागेको एफएम रेडियोका सम्बन्धमा विभिन्न क्षेत्रबाट आलोचना भएपछि सोमबार विज्ञप्ति जारी गरी यसबारेमा प्रष्ट्रीकरण दिएको छ ।

विज्ञप्तिका अनुसार सेनाले एफएम रेडियो सैनिक गतिविधिबारे जानकारी गराउनका लागि राष्ट्रिय प्रसारण ऐन २०४९ तथा प्रसारण नियमावली २०५२ अनुसार नै संचालन गर्न लागेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘रेडियो स्टेशनको प्रशंगलाई राष्ट्रिय राजनीतिसंग जोडी अत्यन्त फरक रुपमा प्रस्तुत गर्न खोजिएको पाइएकोले सम्पूर्ण सरोकारवालाहरुलाई स्पष्ट पार्न चाहन्छौं ।’

नेपालको संविधान तथा कानुनको परिधिभित्र रहेर विपद् व्यवस्थापन, बन्यजन्तु संरक्षण, अन्तर्राष्ट्रिय शान्ति कार्यमा नेपाली सेनाको योगदान, स्वास्थ्य उपचार तथा अन्य सैनिक गतिविधिबारे सूचना तथा शिक्षामुलक सन्देश सरोकारवालाहरु समक्ष पुर्‍याउने र सैनिक सूचना प्रवाहलाई अझ बढी प्रभावकारी बनाउन एफएम स्टेशन सञ्चालन गर्न लागिएको सेनाले स्पष्ट पारेको छ ।

कमेन्ट गर्नुहोस्