दक्षिण कोरियाद्वारा उत्तर कोरियासँग सैन्य वार्ताको प्रस्ताव

सियोल, कोरियाली प्रायद्विपमा बढ्दो तनावका बीच दक्षिण कोरियाको नयाँ सरकारले उत्तर कोरियासँग वार्ताको प्रस्ताव राखेको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले दुबै देशका सैनिक अधिकारीहरुबीच सीमा क्षेत्र टोङगील–गाकमा वार्ताको प्रस्ताव राखेको हो । यो क्षेत्र दक्षिण र उत्तरबीचको तनाव ग्रस्त क्षेत्र हो ।

दक्षिण कोरियाले जारी गरेको विज्ञप्तीमा कोरिया युद्द समाप्त भएको ६४ औं वर्षगाँठ अघि जुलाई २१ का दिन सो क्षेत्रलाई गैर सैन्यीकरण गर्ने उद्देश्यले वार्ताको प्रस्ताव राखिएको हो । सन् १९५३ को युद्द जुलाई २७ मा अन्त्य भएको थियो । यो दिन कोरियाले युद्द वर्षका रुपमा मनाउने गर्दछ ।

दक्षिण कोरियाको यो प्रस्तावमा उत्तर कोरियाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

उत्तर कोरियाले केही दिन अघि मात्रै पहिलो अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको दावी गरेको थियो । अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने यो मिसाइलको सफल परीक्षण गरिएपछि विश्वको ध्यान कोरियातर्फ फेरी तानिएको छ ।

कोरियाले आफ्नो सम्पु्रभता र सार्वभौमसत्ताको रक्षाका लागि आणविक र अन्य हतियार निर्माण गर्नुपर्ने बाध्यता रहेको बताएको छ । संसारको जुनसुकै कुनामा समेत आक्रमण गर्न आफु सक्षम रहेको उसको दावी छ ।

अमेरिका र दक्षिण कोरियाले अघिल्लो महिना कोरिया लक्षित गरेर समुन्द्री सैन्य अभ्यासमा तीब्रता ल्याएपछि कोरियाले समेत मिसाइल परीक्षण गरेको दावी गरेको छ ।

कमेन्ट गर्नुहोस्