परराष्ट्रमन्त्री महराद्वारा उर्जामा लगानी गर्न नर्वे सरकारसँग अनुरोध

काठमाडौं, साउन ३ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महराले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न नर्वेसमक्ष अनुरोध गरेका छन् ।
नेपालका लागि नर्वेजियन राजदूत जेल टोरमोड पेटर्सनसँगको भेटमा परराष्ट्रमन्त्री महराले नेपालको जलविद्युतमा पर्याप्त सम्भावना रहेकोले यसक्षेत्रमा सहयोगका लागि अनुरोध गरेका हुन ।

नेपालमा आफ्नो चार वर्षे कार्यकाल पुरा गर्दै राजदूत पेटरसन फिर्ता जाने क्रममा आज परराष्ट्र मन्त्रीसँग भेट गरेका थिए । उक्त अवसरमा मन्त्री महराले नेपालले राजनीतिक संक्रमणकाल पार गरेर शान्ति तथा स्थायित्वको चरणमा प्रवेश गर्न लागेकोले विकास साझेदार मित्रराष्ट्रहरुको सहयोग आवश्यक भएकोमा जोड दिएका थिए । नेपालमा लगानी मैत्री वातावरण बनाउन सरकार गम्भीर रहेको बताउँदै महराले नर्वे सरकारले विगतमा झैं नेपालको आर्थिक तथा सामाजिक समृद्धिका क्षेत्रमा लगानी गर्ने विश्वास समेत व्यक्त गरे ।
राजदूत पेटर्सनले नर्वेले समेत सामाजिक आर्थिक र लोकतान्त्रिक विकासका प्रयासहरुको क्षेत्रमा सहयोग गर्दै आएको र भविष्यमा समेत यसलाई निरन्तरता दिने बताएका थिए ।

कमेन्ट गर्नुहोस्