एक वर्षमा १ सय ३२ जनाले ज्यान गुमाए

लोकेश धामी

कैलाली,  साउन ४ ।  सुदूरपश्चिममा पछिल्लो एक वर्षको अवधिमा १ सय ८४ सडक दुर्घटना भएका छन् । ९ वटै जिल्लामा भएका ती दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमानुका साथै २०६ जना गम्भीर घाइते भएका छन् ।

गत वर्षको साउन महिनादेखि गएको असार मसान्तसम्म भएका दुर्घटनामा सबै भन्दा बढी कैलालीमा जनाले ज्यान गुमाएका क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक खडकसिंह भण्डारीले जानकारी दिए । सबै भन्दा बढी मोटरसाईकल दुर्घटना हुने गरेका छन् ।

सो अवधिमा १ सय ८ वटा मोटरसाईकल तथा ३७ वटा यात्रुवाहक बस दुर्घटना भएका क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिममा हरेक वर्ष सवारी दुर्घटना र दुर्घटनाबाट मृत्यु तथा अंगभंग हुनेको संख्या बढ्दै गएको छ ।

सवारी साधनको संख्या बढेसंगै सवारी दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै गएको प्रहरी निरिक्षक भण्डारीले बताए । सवारी दुर्घटना वर्षेनी बढ्दै गए पनि दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले प्रभावकारी कदम चाल्न नसकेको आरोप लाग्दै आएको छ । ट्राफिक प्रहरीले भने अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेका बताउने गरेका छ ।

प्रहरी निरिक्षक भण्डारीले दुर्घटना न्यूनिकरणका लागि सडकमा ट्राफिक संकेतहरु राख्ने, क्षमता भन्दा बढी यात्रु राख्न नदिने, पहाडी जिल्ला जोड्ने राजमार्गमा ‘टाइम कार्ड’ लागू गर्ने कार्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले गरिरहेको बताए ।

यस्तै यात्रुवाहक सवारी साधनका चालक, विद्यार्थी तथा सर्वसाधारणलाई ट्राफिक नियमबारे प्रशिक्षण दिनेलगायतका जनचेतनामुलक कार्यक्रमहरु पनि गर्ने गरिएको उनले बताए ।
यस्तै गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लघंन गर्ने क्षेत्रभरी ४७ हजार ४ सय ३६ सवारी साधन कारबाहीमा परेका छन् ।

सवारी साधनको कारबाही जरिवानावाफत २ करोड ७५ लाख १३ हजार रुपैया राजस्व संकलन भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्