ठेलाको कर दोब्बर बढाईयो

धनगढी, साउन ४ । कैलालीको धनगढी उप–महानगरपालिकामा जनप्रतिनिधि आएसंगै उपमहानगरले ठेला व्यवसायको कर दोब्बरले बढाइएको छ । आर्थिक वर्ष वर्ष २०७४÷०७५ का लागि नगरक्षेत्र भित्र रहेका ठेला व्यवसाय संचालन गरेवाफतको कर १ सय प्रतिशतले बढाइएको हो ।

यसअघि प्रतिठेलाबाट दैनिक १० रुपैया उठाउँदै आएको उपमहानगरपालिकाले चालु अर्थिक वर्षमा बढाएर २० रुपैया पु¥याएको छ । दैनिक गुजाराका लागि सडकमा घुलो खाएर व्यापार गर्दै आईरहेका साना व्यवसायीहरुको कर दोब्बर बनाईरहँदा ठूला व्यवसायीलाई पनि उपमहानगरपालिकाले करको दायरामासम्म ल्याउन सकेको छैन ।

कर दोब्बरले बढाउँदा व्यापार व्यवसाय नै धरापमा पर्ने भन्दै कर नबढाउन ठेला व्यवसायीहरुले आग्रह गरेका छन् । उपमहानगरपालिकाले दोब्बर कर बढाउने निर्णय फिर्ता हुनुपर्ने र कर बढेपछि असुलेको कर पनि फिर्ता हुनुपर्ने माग ठेला व्यवसायीहरुले गरेका छन् ।

सडकमा बसेर व्यापार गरेर जिविकोपार्जन गरिरहेकोलाई मारमा पारेर उठीबास लगाउन खोजेको आरोप उनीहरुले लगाएका छन् । जनप्रतिनिधि छानेर पठाउँदा समेत स्थानीय निकायले कर बढाएर दुख दिएको ठेला व्यवसायी रविन्द्र सापकोटाले बताए । उनले सानोतिनो व्यापार गरेर जेनतेन गुजारा गरिरहेको अवस्थामा दोब्बर कर बढाईदा समस्यामा परेको दुखेको पोखे ।

धनगढी चौराहा आसपासमा ठेलामा मकै पोलेर गुजारा चलाई रहेकी ६५ वर्षिया नन्दा सदाले पहिलेको भन्दा दोब्बरले कर बढाइदा तिर्न समस्या भएको बताईन । उनले ठेलामा खासै कमाई नहुने भएकाले बढाएको कर तिर्न समस्या हुने बताईन ।

धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका ठेला व्यवसायहरुबाट कर उठाउने जिम्मा धनतारा निमार्ण सेवालाई दिएको छ । गत आर्थिक वर्षमा वार्षिक ५ लाख ८० हजारमा ठेक्का पाएको उक्त निर्माण कम्पनीले दैनिक १० रुपैया उठाउने गरेकोमा चालु आर्थिक वर्षमा ठेक्का रकम समेत दोब्बर बनाई ११ लाख २ हजारमा ठेक्का पाएको छ ।

सो कम्पनीका प्रतिनिधि धनबहादुर बिकले दैनिक १ सय ५० भन्दा ठेला व्यवसायीहरुबाट रकम उठाउने गरेको जानकारी दिए । ठेकेदार कम्पनीले आर्थिक वर्ष २०७३÷०७४ को पुरानो रसिद प्रयोग गरेर कर असुलिरहेको छ । कम्पनीका प्रतिनिधि बिकले नयाँ ठेली छपाउन ढिलाई भएकोले पुरानो ठेली प्रयोग गरेको स्वीकार गरे ।

धनगढी उपमहानगरपालिकाका आन्तरिक लेखा परिक्षक लेखनाथ ओझाले राजनितिक दलका सयंन्त्र लगाएत कर निर्धारण समितिले कर निर्धारण गरेर करको दायरा बढाएको बताए । उनले उपमहानगरपालिकाले निर्धारण गरेको कर वैज्ञानिक र जायज भएको बताए ।

कमेन्ट गर्नुहोस्