मुटुमा समस्या देखिएपछि पूर्वराजा अस्पताल भर्ना

काठमाडौँ, साउन ४। पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना भएका छन् । नियमित चेकजाँचका क्रममा मुटुमा समस्या देखिएपछि पूर्वराजा शाह थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका हुन् ।

धमनीमा सामान्य अवरोध देखिएकाले एनजीओप्लाष्टी गरिएको अस्पतालका नायव महाप्रवन्धक आरपी मैनालीले जानकारी दिए । उनका अनुसार पूर्वराजा शाहको स्वास्थ्य हाल सामान्य भएपनि केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् ।

प्राडा यादव भट्ट नेतृत्वको चिकित्सक टोलीले पूर्वराजा शाहको उपचार गरिरहेको छ । शाह आज विहान अस्पताल भर्ना भएको उनका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्