चूडामणिविरूद्धको मुद्दा अगाडि नबढाउन सर्वोच्चको आदेश

काठमाडौं, साउन ४ । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरूद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचार विरुद्धको मुद्दा तत्काललार्इ अगाडि नबढाउन बुधबार आदेश दिएको छ ।

शर्माकी श्रीमति कल्पना उप्रेतीले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाशमान सिंह राउतको इजलाशले यस्तो आदेश दिएको हो ।

इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दालार्इ पूर्ण इजलाशमा पठाउने निर्णय गरेको छ । पूर्ण इजलाशको आदेश नआएसम्म विशेष अदालतमा दायर मुद्दा यथास्थितिमा राख्ने अदेश न्यायाधीशद्वयको इजलाशले दिएको छ ।

अख्तियारले शर्मासहित तीन जनाविरुद्ध १० अर्बभन्दा बढी भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
विशेष अदालतमा शर्मासँगै कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख ८२४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ ।

कमेन्ट गर्नुहोस्