”सक्छौं फि देउ, नसके नि नि:शुल्क पढ्न आउ”

इभा राजवाहक

राजधानी सहर खर्चालु सहर भन्दा नि फरक पर्दैन । झन् बालबच्चा बढाउनु जस्तो सकस । पाइला पाइलामा स्कूल कलेज छन् तर पैसा हुनेका लागि मात्रै । नहुनेहरुले सरकारी स्कूलको भर पर्नुपर्छ । गुणस्तरीय शिक्षा यदाकदा भाषणमा सुन्नुबाहेक विकल्प छैन गरीबहरुका लागि ।

तर शिक्षाका सुपरमार्केटहरुको भीडमा एउटा फरक प्रयासका रुपमा देखिएको छ तिलिङटार । जहाँ पढ्न चाहे पैसाले छेक्दैन । जाँगर भए पुग्छ । विद्यालयका प्रधानाध्यापक सरोजकुमार पाण्डे भन्छन्– ‘सक्छौं सहयोग गर सक्दैनौ निशुल्क पढ्न पठाऔं भनेर सबै अभिभावकलाई भनेका छौं ।’

काठमाडौंको टाेखा नगरपालिका धापासीस्थित रहेको तिलिङ्गाटार स्कुल जहाँ आर्थिक रुपमा विद्यार्थी पढाई शुल्क तिर्न गाह्राे हुनेहरुले ढुक्कसँग पढ्न पाउँछन् । सरकारी विद्यालय भएपनि यसवर्षको एसएइ परीक्षामा समेत स्कूलबाट तीन जनाले ए प्लस ल्याउन सफल भए भने २४ जना ‘ए’ सहित जम्मा एक सय चौबीस जना विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भयो तिलिङ्गाटार ।

“विज्ञान संकाय पढ्नका लागि अन्य ठूला शिक्षण संस्थाहरुमा धाउनुपर्ने विद्यार्थीको बाध्यतालाई बुझी हामीले यही विज्ञान संकाय सुरु गर्ने निर्णय गरेका हौं ।”

यसैवर्ष ‘ए’प्लससँगै स्कूलको पहिलो स्थानमा पास गर्न सफल पूर्णिमा महरा भन्छिन्, ‘मलाई तिलिङ्गाटारले सफल मान्छे भन्न प्रेरणा दिएको छ । मैले स्कुल टप गरे त्यो स्कुलको सान हो भने स्कुल टप गर्ने प्रेरणा मलाई यही स्कुलले दिएको हो ।’

मिझिङ –८ रोल्पा घर भएकी महराकी दिदी अस्मिता महरा पनि यसअघि यसै स्कुलबाट स्कुलटपर बनेरकी थिइन् । हाल उनी पुल्चोक इन्जिनियरि कलेज पढ्छिन् । त्यस्तै परिवारका अन्य दुई सदस्यहरु देवी र पुष्पा पनि यही स्कुलमा कक्षा ११ र १२ पढेका थिए । उनीहरुमध्ये पुष्पा मिडियामा काम गर्छिन् भने देवीले आफ्नै पसल संचालन गरी बसेकी छिन् ।

२०५२ सालमा राजधानी भित्रिएको महरा परिवारका ६ वटी छोरीमध्ये चार जनाले यसै विद्यालयबाट शिक्षा हासिल गरी अघि बढेका हुन् । पुर्णिमाकी आमा भन्नुहुन्छ, ‘आयस्रोत गतिलो थिएन त्यैभएर पढ्नका लागि सरकारी स्कुलमा हालिदिए, तर तिलिंगाटारले छोरीहरुलाई सक्षम बनाइदियो ।’ उहाँ भन्नुहुन्छ, ‘मेरा अरु छोरी पनि सरकारी स्कुल नै पढेका हुन् अहिले एउटी कुमारी अधिकृत छे, अरु पनि सबै आ–आफ्नो पेशा व्यवसाय सम्हालेर बसेका छन् ।’

शिक्षकहरुको उत्प्रेरणा र परिवारको सहयोगले उत्कृष्ट नतिजा ल्याउन सफल भएको पूर्णिमा बताउँछिन् । “सरहरुले जहिले पनि हौसला दिनुभयो, यसरी पढ, यसरी अगाडि बढ भन्नुभयो, त्यसले आत्मसम्मान र आत्मविश्वास बढ्यो । घरमा पनि मलाई ममीदिदीहरुले पढ्नका लागि हौसला दिए दिनुभयो, मेरो पढाइमा धेरै जोड प्रकृति दिदीले गर्नुहुन्थ्यो । अहिले परिवारको नाम स्कूलको नाम राख्न सफल भए निकै खुशी लागेको” उनी भन्छिन् ।

तिलिङ्गाटार विद्यालयका प्रधानाध्यापक सरोज कुमार पाण्डे र यसै वर्षाकाे एसइइमा विद्यालयकी सर्वाेत्कृष्ट छात्रा पुर्णिमा महरा

२०१९ सालमा स्थापना तिलिङटार स्कूलमा कक्षा १२ सम्म पढाइ हुने गरेको प्रधानाद्यापक पाण्डे बताउँछन् । १५ सय जति विद्यार्थी रहेको स्कूलमा चार दर्जन शिक्षकको व्यवस्था गर्न सफल भएको पाण्डेले बताए ।

यो स्कूलमा शिक्षा, व्यवस्थापन र मानविकी संकाय सञ्चालनमा छ । यसवर्षदेखि विज्ञान संकायसमेत सुरु गर्न गइरहेको पाण्डे बताउँछन् । “विज्ञान संकाय पढ्नका लागि अन्य ठूला शिक्षण संस्थाहरुमा धाउनुपर्ने विद्यार्थीको बाध्यतालाई बुझी हामीले यही विज्ञान संकाय सुरु गर्ने निर्णय गरेका हौं । हामीसँग भौतिक साधनसहित शिक्षकहरुको समेत कमी नभएकै कारण हामीले पनि यस वर्षबाट विज्ञान संकाय सुरु गरेका हौ” उनले भने, “राम्रो अंक ल्याएर उतीर्ण भएका विद्यार्थी अन्त भौतारिनु नपरोस् भन्ने हाम्रो चाहना हो ।” सरकारी विद्यालय भएर पनि विद्यार्थी प्राप्ता‌ंक तथा उत्तीर्ण प्रतिशत हेर्दा कुनै बाेर्डिङ स्कुलभन्दा कम नभएकाे बताउँने प्रधानाध्यापक अब यस स्कुललार्इ नमूना स्कुलकाे रुपमा स्थापित गर्ने लक्ष्य रहेकाे बताए ।

पढ्न चाहेर पनि पैसा नहुँदा मन मारेर बस्नु पर्ने अवस्थाको अन्त्य गर्न खोजेको पाण्डे बताउँछन् । “पढाईमा कुनै पनि सम्झौता गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो ।” उनी भन्छन्, “विज्ञानदेखि अन्य संकायका लागि भौतिक र मानवीय श्रोतका हिसाबले हामी सक्षम बनेका छौं । पुस्तकालयदेखि प्रयोगशालासम्म व्यवस्थित गरेका छौं ।” पछिल्लो सय स्कूलले योगा कक्षा समेत शुरु गरेको छ । यो योगालाई अतिरिक्त ४५ मिनेटको कक्षाका रुपमा सबै क्लासमा लागु गरिएको पाण्डेले बताए ।

त्यसो त तिलिङ्गाटार सरकारी स्कूल हो । तर यहाँ पढाई भने अंग्रेजी माध्यममा हुने गर्छों । आठ कक्षासम्म त्यहाँ विद्यार्थीबाट कुनै रकम लिईंदैन । “हामीले पैसा माग्दैनौ, केही सरकारबाट सहयोग पाइन्छ । केही सहयोग जर्मनीले गरेको छ । बाँकी हामीलाई माया गर्ने अभिभावकहरुले सहयोग गर्छन् . पुगेकै छ ।” पाण्डे बताउँछन् । कक्षा आठ भन्दा माथि भने उनीहरुले सामान्य फि लिने गरेका छन् । तर यो पनि तिर्न नसक्नेलाई स्कलले नि:शुल्क पढाउने गरेको पाण्डे बताउँछन् ।

कमेन्ट गर्नुहोस्