बेचबिखनको आरोपमा थाई पूर्व सैनिक जनरललाई २७ वर्षको जेल सजाय

बैंकक, साउन ४ । थाइल्याण्डका एकजना पूर्व सैनिक जनरललाई २७ वर्षको जेल सजाय तोकिएको छ ।
म्यानमारका रोहिन्ग्या मुसलमान र बंगलादेशीहरुलाई बेचबिखन गरेको आरोपमा उनलाई सजाय भएको हो । उनीसँगै अन्य ६० जनालाई समेत सजाय सुनाइएको छ ।

एकजना अन्य उच्च अधिकारीलाई ७५ वर्षको जेल सजाय सुनाइएको र सय भन्दा बढी आरोपहरुमाथि सुनवाई चलिरहेको बिबिसीले जनाएको छ ।

जेल चालान गरिएका जनरललाई सन् २०१५ को जुनमा पक्राउ गरिएको थियो । न्यायाधिशले बेचबिखनको संगठित अपराधमा उनको संलग्नता रहेको पुष्टि भएको बताएका छन् ।

बर्माबाट हजारौंको संख्यामा अप्रवासीहरु थाइल्याण्ड आउने गर्दछन् । मानव तस्करहरुले उनीहरुलाई बर्माबाट बैंकक र अन्य सहर लगेर छोड्ने गर्दछन् । मानस कोङपाङ नाम गरेका यी जनरलले सन् २००९ मा ठूलो संख्यामा आप्रवासीहरुको तस्करी गरेको स्वीकार गरेका थिए ।

थाइल्याण्डमा सयौंको संख्यामा नेपाली मूलका बर्मेली नागरिकहरु समेत यसरी नै तस्करी र अन्य बाटोबाट आएर बसोबास गरेका छन् ।

कमेन्ट गर्नुहोस्