‘छाउ बार्न’ धामीकै दबाव

दैलेख, साउन ५ । दैलेखको चामुण्डाविन्सैनी नगरपालिकास्थित लैनचौरमा शान्ता कठायत नाम चलेकी माता अर्थात् धामी हुन् । गाउँले बिरामी हुँदा होस् वा समस्यामा पर्दा उनै माताको शरणमा पुग्छन् ।

गाउँमा नजिकै अस्पताल छैन । भएका स्वास्थ्य संस्थामा पनि भरपर्दो उपचार हुँदैन । केही उपाय नलागेपछि गाउँलेहरू माताको शरणमा पुगेर उपचारका लागि हारगुहार गर्छन् । माताको उपचार गर्ने एउटै मन्त्र छ । उपचारका लागि आउनेलाई उहाँ ‘छाउ बार्न’ सुझाव दिन्छिन् ।आफूकहाँ हेराउन आउनेलाई माताको एउटै सुझाव हुन्छ, ‘महिनावारी नबार्दा समस्या आइलाग्यो ? अब घरमा छाउ बार्नू ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा गजेन्द्र बोहोरा र ललित बुढाको बाइलाइनमा समाचार छ ।

गाउँलेहरू पनि माताकै विश्वासमा छाउ बार्न तयार हुन्छन् । महिनावारी हुँदा छुइछाई नगर्न माताले दिएको सुझावअनुसार नै स्थानीयले महिनावारीको बेलामा महिलालाई छाउगोठमा राख्छन् ।

गाउँकै धामीको विश्वास र देउता रिसाउने भ्रमका कारण यहाँ छाउ बार्ने संस्कारले जरा गाढेको छ । बेलुकी छाउगोठमा सुतेकी किशोरी बिहान मृत भेटिँदासमेत स्थानीय सचेत छैनन् । बरु गाउँका धामीझाँक्रीले भनेबमोजिम नै छाउ बार्न तयार छन् ।

स्थानीय धामीझाँक्रीका लागि पनि छाउगोठ उपचारको गतिलो मन्त्र बनेको छ । सामान्य रुघाखोकी र ज्वरो आउँदा होस् वा पशु बिरामी हुँदा, धामीले छुइछाइ नै मुख्य कारण देखाउँदै आएका छन् ।

अनि उपचार मन्त्रको रूपमा उनीहरूले छाउ बार्न सुझाव दिने गरेका छन् । धामीको यही गलत सुझाव र सल्लाहका कारण पनि छाउपडी उन्मूलनमा चुनौती थपिएको छ ।

कमेन्ट गर्नुहोस्