चीन-भारत तनाव झनझन बढ्दो

काठमाडौं, साउन ५ । चीन र भारतबीच कूटनीतिक सम्बन्ध चिसिएको छ भने सैन्य तनाव झन् बढेको छ ।

चिनियाँ सेनाको एउटा ठूलो समूह दशौँ हजार टन हतियारसहित तिब्बततर्फ अघि बढेको चिनियाँ जनसेनाको मुखपत्र पिएलएले जनाएको छ । एक साताअघि मात्र जनसेनाको एउटा समूहले तिब्बती क्षेत्रमा वर्षको सबैभन्दा ठूलो सैन्य अभ्यास गरेको थियो जसको भिडियो चिनियाँ टेलिभिजनबाट प्रसारण गरिएको थियो ।विवादित भूमि दोकलामबाट सैनिक तुरुन्त पछि हटाउन भारतलाई चेतावनी दिइरहेको चीनले आफ्नो सैन्य शक्ति सीमाक्षेत्रतर्फ अघि बढाएको  नयाँ पत्रिकामा खबर  छ ।

चीनले हतियार ओसारेको र युद्ध अभ्यास गरेको क्षेत्र दोकलामबाट नजिकै रहेको हङकङस्थित साउद चाइना मर्निङ पोस्टले जनाएको छ ।

पछिल्ला दिनमा चीनबाट प्रकाशित हुने विभिन्न सञ्चारमाध्यमहरूले भारतलाई निरन्तर चेतावनी दिँदै आएका छन् । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स र सिन्हृवाले पनि भारतीय सेना विवादित भूमिबाट नफर्किएमा भारतले अपि्रय परिणामको सामना गर्नुपर्ने चेतावनी दिँदै आएका छन् ।

चीन र भारतका सेना सीमावर्ती क्षेत्र दोकलाममा आमनेसामने भइरहेका वेला जनसेनाको अभ्यासलाई अर्थपूर्ण रूपमा लिइएको छ । चीनको पछिल्लो कदमले भारत थप सतर्क र चनाखो बनेको छ ।

यसैबीच, भारतीय सेनाले पनि सीमा क्षेत्रमा टेन्ट टाँगेर २४सै घन्टा निगरानी बढाएको छ । चिनियाँ सेनाले सीमामा गतिविधि नरोकेसम्म भारतीय सेना पछाडि नहट्ने अधिकारीहरूले बताएका छन् ।

१० हजार फिटको उचाइमा सिक्किमको सीमामा परिचालन गरिएका सेनालाई नियमित रूपमा खाद्यान्न र बन्दोबस्तीका सामग्री पठाइएको भारतीय अधिकारीहरूले बताएका छन् । बन्दोबस्तीका सामग्रीसहित सेना परिचालनले नयाँदिल्ली बेइजिङसँग नझुक्ने संकेत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्