चितवनमा ३२ प्रहरी कारबाहीमा

चितवन, साउन ५ । चितवनमा ३२ जना प्रहरी कारबाहीमा परेका छन्। गत एकवर्षको अवधिमा प्रहरी अचारणविपरीत क्रियाकलापमा संलग्न रहेका ती प्रहरी कारवाहीमा परेका हुन् ।

पटक–पटक विभागीय कारबाही गर्दा पनि आचरण सुधार नभएको र अवाञ्छित क्रियाकलापमा समेत संलग्न भएकाले कारबाहीमा परेकामध्ये ४ जनालाई सेवाबाटै हटाइएको चितवनका प्रहरी उपरीक्षक एसपी दीपक थापाले बताएका छन् ।

यस्तै १९ जनालाई नसियत दिइएको र २ जनाको तलब वृद्धि रोक्का गरिएको छ। एक जनालाई घटुवा गरिएको छ भने अर्का दुईजना निलम्बनमा परेका र ४ जनाको तलब स्केल घटाइएको छ ।

कारवाही पर्नेमा प्रहरी नायव निरीक्षकदेखि प्रहरी परिचरसम्म रहेको र सबैभन्दा बढी २२ जना प्रहरी जवान कारबाहीमा परेका जिल्ला प्रहरी कार्यालय चितवनले दिएको तथ्यांकमा उल्लेख छ।

त्यस्तै गत वर्षमा उत्कृष्ट काम गर्ने ४८ जना प्रहरीहरुलाई भने जिल्ला प्रहरी कार्यालय चितवनले पुरस्कृत गरेको छ ।

कमेन्ट गर्नुहोस्