नक्कली भिसामा नक्कली श्रम दलालसँग प्रशासन कै मिलोमतो, युएइमा नेपाली अलपत्र ।

सुसान आचार्य

युएइ, असार ५ । वैदेशिक रोजगारीका लागि काठमाडौको ठमेलस्थित अर्थ लाइन ट्राभल्सबाट युएइ आएका एक नेपालीलाई नक्कली भिसामा श्रम सुइकृती दिइएको रहस्य खुलेको छ ।

मकवानपुर स्थायी ठेगाना भएका अरुण नेगीको पासपोर्टमा युएईस्थित ट्रान्सगार्ड सेक्युरिटी कम्पनीको नाम लेखी १६ सय ५१ दिराम तलब उल्लेख गरी श्रमको नक्कली स्टिकरसमेत टाँसिएको नेपाली दूतावास युएइले छानबिन गर्दा बताएको छ ।

राम्रो काम र राम्रो तलब सुबिधा हुने आश्वासन देखाई अर्थ लाइन ट्राभल्सले नेगिसँग दुई लाख ७० हजार रुपैयाँ लिएर श्रमको नक्कली स्टिकर टासी युएइ पठाएको भए पनि अध्यागमनले चेकजाँच नै नगरी छोडेपछि प्रशासनको समेत मिलोमतो रहेको खुल्न आएको हो ।

सामान्य पढ्लेख गरेका नेगिले आफूलार्इ ट्राभल्सले झुक्याएर पठाएको बताएका छन् भने यता युएइस्थित नेपाली दूतावासले नेगिको पासपोर्टमा टाँसिएको श्रमको स्टिकर छाप र हस्ताक्षरसमेत नक्कली रहेको भनी यसमा अध्यागमन भित्रका कर्मचारीको समेत मिलोमतो भएको बताएका छन् ।

भिजिट भिसाको बहानामा मानव तस्करको काम गर्दै आएको ट्राभल्सले विभिन्न समयमा युएइ ल्यार्इ युएइको मुसफा ३२ स्थित एक घरमा अलपत्र पारेका ४० नेपाली मध्ये २० जना नेपालीले युएइस्थित दूतावासमा आफूहरु पीडित भएको निवेदन दिएपश्चात् छानबिन गर्दा नेपालबाट नै सेटिङमा युएइ पठाएको खुल्न आएको हो ।

यता घटना बाहिर आएसँगै पीडित नेपालीलाई दिनहुँजसो कुटपिट गर्न तथा ज्यान मार्ने धम्की दिने ट्राभल्सका युएइ एजेन्ट साजन भनिने प्रेम पान्डेले दूतावासका कर्मचारी र प्रशासनसँग नै आफ्नो मिलोमतो भएको उल्लेख गर्दै दूतावासका केहि कर्मचारीसँग सधैँ जसो फोन सम्पर्क गर्ने गरेको पीडितले बताएका छन् ।

अलपत्र परेका २० जना मध्ये पाँच जना अबैधानिक बनी सकेको र युएइको अध्यागमनलाई बुझाउनुपर्ने जरिवाना रकमसमेत झन्डै नेपाली दुई लाख ५० हजारसम्म पुगेको हुँदा एजेन्टले जरिवानानै नतिरी पीडितलार्इ युएइ ब्यन्ड नै गरेर पठाउने तयारी गरेको पीडितको भनार्इ रहेको छ ।

दूतावासमा निवेदन हालेको दुई हप्ता पुग्दा समेत दूतावासले कुनै चासो नदिएको तथा आफूले कारबाही गर्न नसक्ने बताएपछि यतिखेर अलपत्र परेका २० नेपाली को युएइमा बिचल्ली भएको छ भने घटनाबारे नेपाल सरकार गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराइएको छ ।

कमेन्ट गर्नुहोस्