उद्दार गरीएकी बिकले छोरो जन्माइन, हेलिकप्टरको भाडा मन्त्रालयले

काठमाडौं, साउन ५ । प्रसवपीडाले जीवन मरणको दोसाँधमा रहेकी रोल्पा थबाङकी बरमाया बिकले छोरो जन्माएकी छन । अहिले आमाछोराको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।

राजधानीको थापाथलीस्थित प्रसुतीगृहमा भर्ना गरिएकी बिकले केही समयपछि छोरा जन्माएकी थिइन ।

गृहमन्त्री जनार्दन शर्माले गर्भवतीको उद्धारका लागि गएको मंगलबार नेपाली सेनाको हेलिकप्टर पठाएका थिए । त्यस लगत्तै सेनाको हेलिकप्टरले उनलाई काठमाडौं ल्याएको थियो ।

सर्वसाधारण व्यक्तिले सेनाको हेलिकप्टर प्रयोग गर्न चाहेमा गृहमन्त्रालयको अनुमतिमा भाडा तिरेर प्रयोग गर्ने प्रावधान रहेको छ ।

गृहमन्त्री शर्माले मन्त्रालयबाटै भाडाको ब्यवस्था गर्न निर्देशन दिएको जनाइएको छ । उक्त व्यवस्था मिलाउन मन्त्रालयले रोल्पा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने तयारी गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्