वर्षौदेखिको डुवान समस्या कसरी गर्लान जनप्रतिनिधिले समाधान

लोकेश धामी
कैलाली, साउन ५ । धनगढीनगर क्षेत्र प्रत्येक वर्ष सामान्य वर्षात हुँदा पनि डुवानको चपेटामा पर्ने गरेको छ । खोला नाला अतिक्रमण हुनु, उचित ढल निकासको व्यवस्था नहुनु लगायतका कारणले बर्सेनी नगरबासी डुवानको समस्या झेल्न बाध्य भएका हुन् ।

केहि घण्टा मात्रै पानी पर्यो भने नगर क्षेत्रका अधिकांश ठाउँको जनजीवन कष्टकर हुने गर्दछ । डुवान समस्या अन्त्य गर्ने आशाले आफ्नो अमूल्य भोट दिएर जनप्रतिनिधि चुनेकाले बर्सौदेखिको समस्या समाधान हुनेमा प्रभावित क्षेत्रका स्थानीय आशावादी छन ।

आफ्नो ठाउँमा समस्या थुप्रै रहे पनि सबैभन्दा पहिले जनप्रतिनिधीबाट कटान र डुवान समस्या समाधान होस् भन्ने अपेक्षा गरेको धनगढी–३ विशालनगरकी स्थानीय पार्वती खडायतले बताइन् । स्थानीय व्यक्ति नै निर्वाचित भएकाले वडामा भएका मुख्य समस्या समाधान हुने उनले विश्वास व्यक्त गरिन् ।

उचित ढल निकासको व्यवस्था नहुँदा नगर क्षेत्रका विशालनगर, धनगढी गाउँ, शिवनगर लगायतका ठाउँ बर्खामा सबैभन्दा बढि डुवानको चपेटामा पर्ने गरेका छन् ।

केही समय निरन्तर बर्सात भयो भने स्थानीयको घरभित्र पानी पस्ने समस्या त छदै छ आवात जावत नै बन्द हुने गरेको अर्का स्थानीय दलबहादुर रावलको भनाइ छ ।

धनगढीको डुवान तथा कटान समस्यालाई पाँच वर्षीय कार्यकालमा हटाउने नवनिर्वाचित जनप्रतिनिधिको दाबी छ । नगर क्षेत्रको सबैभन्दा बढि डुवान हुने ३ नम्बर वडालाई तीन वर्षभित्र डुवान रहित वडा बनाउने माओवादी केन्द्रबाट वडा नम्बर ३ का नवनिर्वाचित वडा अध्यक्ष बलबहादुर ऐरले बताए ।

जनप्रतिनिधिले चुनावका बेला डुवान समस्या समाधान गर्छु भनी बाँचा गरेकाले अब भने यो समस्याबाट मुक्ती पाउने धनगढी–१ का स्थानीय शर्मानन्द भट्टले आशा राखे । धनगढी–१ मा रहेको डुवान तथा कटान समस्यालाई हटाउन प्रमुखताका साथ काम गरि रहेको नवनिर्वाचित वडा अध्यक्ष सन्तोष मुडभरीले दाबी गरे ।

बर्सेनी हुने डुवान तथा कटानले धेरैको उठिबास लगाएको छ । डुवान समस्याकै कारण कतिपयले त घरजग्गा बिक्री गरेर अन्यत्र समेत गइ सकेका छन् ।

त्यसकारण यहाँको प्रमुख समस्या डुवान तथा कटानलाई प्राथमिकतामा राख्दै जनप्रतिनिधिले काम गर्नु पर्नेमा डुवान प्रभावितको जोड छ ।

वडाका विभिन्न समस्यासँग घुलमिल भएका व्यक्ति नै निर्वाचित भएकाले डुवान तथा कटान समस्या हट्नेमा नगरबासी आशावादी पनि छन् ।

कमेन्ट गर्नुहोस्