इनार सफा गर्दा मजदुरको मृत्यु, नौ घण्टापछि शव निकालियो

चितवन, साउन ६ । पश्चिम चितवनको गीतानगरस्थित एक घरको इनार सफा गर्न गएका मजदुरको निस्सासिएर मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२३ स्थित नयाँ बस्तीका सोमबहादुर लोको घरमा रहेको इनार सफा गर्न गएका स्थानीयवासी ३६ वर्षीय रामकुमार रानाको बिहीबार विहान निस्सासिएर मृत्यु भएको हो ।

करिव ४० फिट गहिरो इनारमा पसेका मजदुर रानाको अक्सिजनको अभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनको ९ घण्टापछि विहीबार साँझ ७ बजे मात्र शव निकालिएको थियो । बिहान ९ः४० बजे इनार सफा गर्न गएका उनी केही समयपछि नै प्रतिक्रियाविहीन भएका थिए ।

स्थानीयवासीबाट घटनाको जानकारी आएपछि नेपाली सेनाको टोलीले दिउँसो उद्धारको प्रयास गरेपनि सफल हुन नसकेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

सेनाको टोली २५ फिट तल पुगेपनि अक्सिजन नहुँदा भित्र जान सकेन । त्यसपछि अक्सिजनसहित कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली बोलाइएको थियो ।

सो टोलीले साँझ ७ बजेतिर करिब ९ घण्टापछि उनको शव निकालेको चितवन प्रहरीले जनाएको छ । कुरिनटारबाट टोली आउनुपर्ने भएकाले नारायणगढ–मुग्लिन सडकको बाटो भएर आउँदा उनको उद्धार गर्न लामो समय लागेको हो ।

उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

कमेन्ट गर्नुहोस्