पुटिन र ट्रम्पबीच टुहुरा बालबालिकाका बारेमा कुरा भएको प्रष्टोक्ति

मस्को, साउन ६ । रुसले राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच जी–ट्वान्टी शिखर सम्मेलनका क्रममा बालबालिकाका विषयमा छलफल भएको जनाएको छ ।

क्रेमलिनले रसियाली टुहुरा बालबालिका अंगीकार विषयमा दुई नेताबीच छलफल भएको जनाएको हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नियमित पत्रकार सम्मेलनका क्रममा दुई राष्ट्रपतिबीच भेटवार्ता भएको स्वीकार गर्दै बालबालिकाका विषयमा मात्र कुराकानी भएको बताएका हुन् । प्रवक्ता पेस्कोभले अमेरिकी नागरिकले रसियाली टुहुरा बालबालिकालाई अंगीकार गर्नमा प्रतिबन्ध लगाइएको कानुन रद्द गर्न लागिएको विषयलाई भने खण्डन गरे ।

सन् २०१२ को डिसेम्बरमा रसियाली राष्ट्रपति पुटिनले ल्याएको कानुनलाई अमेरिकाको म्याग्निट्स्की ऐनको बदलास्वरूप ल्याइएको बताइने गरेको छ । उक्त ऐन अमेरिकाले सन् २०१२ को अन्त्यतिर नै ल्याएको थियो ।

म्याग्निट्स्की ऐनले रसियाली वकिल सर्गेइ म्याग्निट्स्कीको हत्यामा संलग्न मानिएका रसियाली अधिकारीमाथि राजश्व छलीको आरोप लगाई अमेरिका भ्रमणमा रोक लगाउन भिसा नदिने र उनीहरूको सम्पत्ति जफत गर्ने विषयको व्यवस्था गरेको थियो ।

अमेरिकी सञ्चारमाध्यमले भने पुटिन र ट्रम्पबीच जी–ट्वान्टी शिखर सम्मेलनका अवसरमा दुई घण्टाको औपचारिक कुराकानीबाहेक गोप्य दिवा भोजमा सरिक भएको दाबी गर्दै आएका छन् । ह्वाइट हाउसले भने विज्ञप्ति जारी गर्दै दुई नेताबीच दिवा भोजमा छोटो कुराकानी बाहेक कुनै दोस्रो छलफल नभएको जनाएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै गोप्य भोजबारे आएका सबै समाचार बनावटी र आधारहीन भएको भन्दै खण्डन गरेका थिए ।

कमेन्ट गर्नुहोस्