मान्यता नपाएका विदेशी कलेजमा नर्सिङ पढ्ने विद्यार्थीकाे नाम नेपालमा दर्ता नहुने

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले मान्यता नपाएका विदेशी कलेजहरुमा अध्ययन गरेका नेपाली नर्सिङ विद्यार्थीलाई स्वदेशमा दर्ता नगर्ने भएको छ । परिषद्ले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

सम्बन्धित देशको नर्सिङ परिषद्, प्रान्तीय परिषद् र शिक्षा तथा स्वास्थ्य मन्त्रालयले स्वीकृति नदिएको त्यस्ता कुनै पनि कलेजमा पढ्ने विद्यार्थीलाई नेपालमा दर्ता नगरिने स्पष्ट पारेको हो ।

परिषद्ले सुचनामा भनेको छ ‘आफूले अध्ययन गर्ने नर्सिङ कलेजलाई सम्बन्धित देशको नर्सिङ परिषद्, स्टेट काउन्सिल, स्वास्थ्य कल्याण मन्त्रालय वा शिक्षा मन्त्रालयबाट मान्यता पाएको हुनुपर्नेछ ।’ त्यस्तै नर्सिङ अध्ययन सकिएपछि सम्बन्धित देशको नर्सिङ परिषद्मा दर्ता हुनुपर्ने वा आफूले अध्ययन गरेको संस्था उक्त देशको नर्सिङ काउन्सिल, शिक्षा वा स्वास्थ्य मन्त्रालयमा दर्ता भएकै हुनुपर्ने उल्लेख छ ।

यस्ता सामान्य मापदण्ड पूरा नगरेका कलेजहरुमा पढेर आएका विद्यार्थीहरुलाई नर्सिङ परिषद्ले परीक्षामा समावेश नगराउने र दर्ता नगर्ने भएको हो ।

परिषद्को यस्तो सुचना इण्डियन नर्सिङ काउन्सिलले बैंगलोरका नर्सिङ कलेजहरुको सम्बन्धन खारेज गरेपछि सार्वजनिक भएको हो ।

यस्ताे छ परिषद्ले निकालेकाे सूचना

कमेन्ट गर्नुहोस्