२ नम्बर प्रदेशमा कांग्रेसको आक्रामक रणनीति, साउनभित्रै उम्मेदवार छनौट

काठमाडौं, साउन ७ ।
कांग्रेसले आगामी असोज २ मा हुने प्रदेश २ को स्थानीय तह निर्वाचन रणनीति अघि सारेको छ। राजधानीमा शुक्रबार राति सम्पन्न प्रदेश २ को दुईदिने भेलाले तराई मधेसको राजनीतिक र विकाससम्बन्धी बेग्लाबेग्लै प्रस्ताव पारित गर्दै चुनावी अभियान थालेको हो।

कान्तिपुरमा प्रकाशित समाचारमा अगाडि उल्लेख छ–

प्रदेश २ का पार्टी केन्द्रीय सदस्य, सांसद, पूर्वसांसद, जिल्ला सभापति, क्षेत्रीय सभापतिसहितको भेलाले मधेसका माग सम्बोधनका लागि संविधान संशोधन गर्ने र विकास आयोजनाको नेतृत्व कांग्रेसले लिने उद्घोषसमेत गरेको छ।

भेलाले मधेसी जनताको भावना र माग सम्बोधन गर्न संसदीय प्रक्रियामा रहेको संविधान संशोधन पारित गर्न सबै राजनीतिक दलसँग आग्रह पनि गरेको छ। सरकारले पछिल्लो पटक बढाएको स्थानीय तहको संख्या कार्यान्वयनमा ल्याउनसमेत भेलाले माग गरेको छ। सरकारले स्थानीय तहको संख्या बढाए पनि सर्वोच्च अदालतको आदेशका कारण रोकिएको थियो। त्यसलाई प्रक्रिया पुर्‍याएर कार्यान्वयनमा लैजान भेलाले माग गरेको हो। प्रमुख प्रतिपक्षी एमालेलाई पनि संविधान संशोधनको पक्षमा दृष्टिकोण बनाई सहयोग गर्न भेलाले अपिल गरेको छ।

भेलाले पारित गरेको राजनीतिक प्रस्तावमा राष्ट्रिय जनता पार्टीलगायत सबैलाई तेस्रो चरणको चुनावमा सहभागी हुन अपिल गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २ गतेको चुनावअघि नै संविधान संशोधन विधेयक मतदानमा लैजाने बताए। संशोधनको पक्षमा अहिलेसम्म दुई तिहाइ मत पुर्‍याउन छलफल चलिरहेको बताउँदै भेलामा उनले भने, ‘हामीसँग दुई तिहाइ पुगिहाल्ने अवस्था अहिले विद्यमान छैन। तर मधेसी जनताको भावनाअनुसार यसलाई पारित गराउन हामी लाग्नेछौं।’

संविधान संशोधनमार्फत कांग्रेसले मधेसको समस्या समाधान गर्न चाहेको बताउँदै प्रमुख प्रतिपक्षी एमालेका कारण दुई तिहाइ पुग्ने अवस्था नरहेको देउवाले बताए। ‘मधेसको समस्या समाधान गर्न नचाहनेले विधेयकको विपक्षमा मतदान गर्छन्। मतदानमा लैजाँदा जनताले पनि कसले समस्या हल गर्न नचाहेको रहेछ, थाहा पाउँछन्,’ प्रधानमन्त्री देउवाको भनाइ थियो, ‘मधेसको समस्या समाधानका लागि हामी संशोधन विधेयक चुनावअघि नै मतदानमा लैजाने तयारीमा छौं।’

भेलामा कांग्रेसका २ नम्बर क्षेत्रका नेताहरूले पनि संविधान संशोधनलाई मतदानमा लगेर टुंगोमा पुर्‍याउन नेतृत्वलाई दबाब दिएका थिए। कांग्रेसका मधेस केन्द्रित नेताहरूले संविधान संशोधनको मुद्दा मधेस केन्द्रित दलहरूको मात्रै नभएर आफूहरूको पनि माग रहेको उल्लेख गर्दै चुनावी वातावरण सहज बनाउन संशोधन विधेयक अड्काएर राख्न नहुने धारणा राखेका थिए। कांग्रेस नेता विमलेन्द्र निधिले संविधान संशोधनलाई मतदानमा लैजानुपर्नेमा जोड दिए। उनले एमाले संशोधनको पक्षमा नआए त्यसैलाई चुनावी मुद्दा बनाएर लैजान सकिने धारणा राखेका थिए।

पार्टीभित्रैबाट संशोधन प्रस्ताव अघि बढाउन दबाब परेपछि देउवाले चुनावअघि नै संशोधन विधेयक मतदानमा लैजाने टुंगोमा पुगिएको जानकारी गराएका हुन्। निधिले पहिलो र दोस्रो चरणको चुनावमा पुगेको क्षति पूर्ति गरेर प्रदेश २ ले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने उद्घोषसमेत गरे।

भेलामा प्रदेश २ का १ सय ७० नेता तथा कार्यकर्ता सहभागी भएको केन्द्रीय सदस्य रामकृष्ण यादवले बताए। यादवका अनुसार २ नम्बर क्षेत्रको चुनावी रणनीति बनाउन जिल्लागत समूह बनाएर छलफल गरिएको थियो। भेलाले पारित गरेको विकास निर्माणसम्बन्धी प्रस्तावमा मधेसमा कृषि विश्वविद्यालय, वीरगन्ज विश्वविद्यालय खोल्ने, दोस्रो चरणको हुलाकी राजमार्ग सरकारले आफ्नै स्रोतमा निर्माण गर्नुपर्ने, सुनसरी–कमला डाइभर्सन कार्यान्वयन गर्ने, मेडिकल कलेज, कृषि कलेज खोल्ने, रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने, जनकपुर र पूर्व–पश्चिम रेलवे सञ्चालनलगायत विषय समेटिएको छ। वीरगन्जको चिनी कारखाना, कृषि औजार कारखाना तत्काल सञ्चालन गर्नुपर्ने मागसमेत प्रस्तावमा गरिएको छ।

भेलाले साउन मसान्तसम्म प्रदेश २ का लागि उम्मेदवार छनोट गर्नुपर्ने निर्णयसमेत लिएको छ। त्यसअघि देउवाले पनि एक महिनाअघि नै उम्मेदवार दिइसक्ने बताएका थिए। पहिलो र दोस्रो चरणको चुनावमा पार्टी दोस्रो नम्बरमा पुग्नुमा ढिलो गरी उम्मेदवारी दिनु पनि प्रमुख कारण रहेको भन्दै २ नम्बरमा चाँडै उम्मेदवार छनोट गर्ने तयारी भएको हो। कांग्रेसले आठवटै जिल्लाको बृहत् भेला जनकपुरमा गर्ने, भेलालाई सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारीले सम्बोधन गर्ने निर्णय पनि लिएको छ। वीरगन्जमा बृहत् चुनावी सभा, आठवटै जिल्ला सदरमुकाममा चुनावी सभा गर्ने निर्णयसमेत भेलाले गरेको छ। सबै सभालाई शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम छ।

जततउस्ररपबलतष्उगच।भपबलतष्उगच।अयmरलभधकरद्दण्ज्ञठ(ण्ठ(द्दद्दरद्दण्ज्ञठण्ठद्दद्दण्ठद्धठज्ञढ।जतmि

कमेन्ट गर्नुहोस्