सफलतापूर्वक जोडियो छिनिएको खुट्टा

बिर्तामोड, साउन ७ ।
बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टासमेत जोडेको छ । कन्काई नगरपालिकाका ५३ वर्षीय गोपाल विष्टको छिनेको खुट्टा जोडिएको हो । उक्त अस्पतालले यसअघि पनि चुँडिएको हात जोडेको थियो ।

गत असार १२ गते बसले ठक्कर दिँँदा भएको मोटरसाइकल दुर्घटनामा उनको खुट्टा छिनिएको थियो । छालाले मात्रै अडिएको अवस्थामा उनी अस्पताल भर्ना भएका थिए ।

नयाँ पत्रिकामा प्रकाशित समाचारमा उल्लेख छ– उपचारमा संलग्न अर्थोपेडिक सर्जन डा. निराजन पराजुलीका अनुसार विष्टको अवस्था डरलाग्दो थियो । ‘खुट्टाको मासु क्षतविक्षत भइसकेको थियो,’ उनले भने, ‘हामीले बिरामीलाई तुरुन्तै अप्रेसन रुममा लग्यौँ, अप्रेसन नगर्दा रगत धेरै बगेर ज्यानै जान सक्थ्यो ।’

डाक्टरका अनुसार विष्टको खुट्टाको रगतको नशा नै सुचारु थिएन । रगतका सबै नशा सिलाइएको र रडले हड्डी मिलाइएको थियो । ‘तर, चोट यति गहिरो थियो कि त्यसपछि त्यहाँको मासु मरेर कुहिन थाल्यो,’ छिनेको खुट्टाको तस्बिर देखाउँदै डा। पराजुलीले भने, ‘मासु सफा गर्दै जाँदा हड्डी पनि काट्नुपर्यो ।’ विष्टको देब्रे पातोको मासु निकालेर खुट्टाको खाली ठाउँ पुरेको उनले बताए । त्यहाँ छाला पनि लगेर छोपियो । लामो प्रयासपछि आफूले सफलता पाएकाले खुसी लागेको डा। पराजुलीले बताए ।

डा। पराजुलीका खुट्टा पहिलेकै अवस्थामा नफर्किए पनि विष्ट खुट्टा टेकेर हिँड्न सक्ने हुनेछन् । ‘एकछिन ढिला ल्याएको भए खुट्टा फाल्नुपथ्र्यो । म बी एन्ड सी हस्पिटलमा थिइनँ भने यहाँबाट यो बिरामीलाई रिफर पनि गरिन्थ्यो,’ उनले भने, ‘राजधानीबाहिर पहिलोपटक छिनेको खुट्टा जोड्ने बी एन्ड सी हस्पिटल नै हो ।’ विष्टको ६० प्रतिशत उपचार सकिएको र अझै ४० प्रतिशत उपचार गर्न बाँकी नै रहेको हस्पिटलले जनाएको छ ।

एनेस्थेसियाका डा। राजु श्रेष्ठका अनुसार विष्टलाई अन्य कुनै रोग नभएकाले उपचार गर्न सजिलो भएको हो । तर, पनि थोरै अवधिमा उनलाई धेरैपटक बेहोस बनाउनुपरेको डा। श्रेष्ठले सुनाए ।

‘हामीले स्पाइनल सर्जरीदेखि छिनेको हात, छिनेको औँला, छिनेको खुट्टा जोडेर देखाइसक्यौँ,’ हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले भने, ‘घुँणाको पांग्रा प्रत्यारोपण पनि सफल भइसक्यो । अब मेची अञ्चलवासीले उपचारका लागि अन्त जानै पर्दैन ।’

कमेन्ट गर्नुहोस्