भक्तपुर मालपोत अधिकृतसहित चार कर्मचारी घुससहित रंगेहात पक्राउ

भक्तपुर, साउन ७ । मालपोत कार्यालय भक्तपुरका मालपोत अधिकृतसहित चार कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कार्यालयका अधिकृत चक्रबहादुर श्रेष्ठ, नायवसुब्बा राजकुमार घिमिरे, नायव सुब्बा दिनेश रेग्मी र खरिदार दुर्गा पोखरेल रहेका छन् ।

चाँगुनारायण नगरपालिका ७ बागेश्वरीको जग्गा कित्ताकात्त गरी बाटो राखेर प्लट मिलान गर्ने कामको लागि घुस लिँदै गरेका उनीहरुलाई मध्यपुर थिमि नगरपालिका ३ कौशल्टारस्थित ‘वेभ सेकुवा कर्नर’बाट पक्राउ गरेको अख्तियारका सहसचिव एवं प्रवक्ता जीवराज घिमिरेले जनकारी दिएका छन् ।

प्लट मिलान गर्नको लागि सबै प्रक्रिया पुर्‍याई निवेदन दिएकोमा अधिकृत श्रेष्ठले गलत नियतले दुःख दिन थालेपछि सेवाग्राहीले अख्तियारमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा कर्मचारीहरुलाई घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । अधिकृत श्रेष्ठले सेवाग्राहीबाट ५० हजार नगद लिएसँगै वेभ सेकुवा कर्नरमै जग्गाधनी पुर्जा सेवाग्राहीलाई दिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्