चुनावलाई क्रान्तिकै मोर्चाका रुपमा लिएर उपयोग गर्न प्रचण्डको निर्देशन

काठमाडौं, साउन ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदलाई उपयोगका अर्थमा बुझेर चुनावमा होमिनुपर्नेमा जोड दिएका छन् ।

सोमबारदेखि जारी सचिवालयको विस्तारित बैठकको समीक्षा मन्तव्य राख्दै प्रचण्डले माओवादीको यात्रा संसदमा गएर नटुंगिएको जिकिर गरे । “हामी क्रान्तिकारी थियौं र हौं, संसदवादको अभ्यास हामीले गरेका होइनौं भन्ने कुरा स्पष्ट हुनु जरुरी छ।” उनले भने ।

बैठकमा सहभागी एक नेताका अनुसार, सन् १९०५ मा रुसी कम्युनिष्ट पार्र्टीले झेलेको असफलताको उदाहरण दिँदै प्रचण्डले माओवादीका अगाडि क्रान्तिलाई पुरा गर्नुपर्ने दायित्व अझै रहेको बताए । नेकपा माओवादी इतिहासको विशिष्ट मोडमा रहेको उल्लेख गर्दै प्रचण्डले संसदलाई उपयोगका अर्थमा ग्रहण गर्नुपर्ने बताए । “अहिले रुसको जस्तो परिस्थिति छैन । तर त्यो परिघटनाबाट सिक्नु जरुरी छ ।” अक्टोबार क्रान्तिको सन्दर्भलाई विशेषरुपमा उठाउँदै प्रचण्डले भने ।

“क्रान्तिको स्वरुप मात्रै फेरिएको हो, कतिपयले संसदसम्म सीमित भएको अर्थमा बुझ्नु भएको छ भने त्यो गलत हो ।” प्रचण्डले भने, “हामीले यसलाई उपयोग गर्दै समाजवादी क्रान्तिको तयारी गर्नेतर्फ संगठनलाई होम्नु पर्छ ।”

पार्टी अध्यक्ष प्रचण्डले चुनावका क्रममा बिभिन्न जिल्लाका इन्चार्ज र नेताहरुको धारणापछि आफ्नो समिक्षा मन्तव्य राखेका हुन ।

संगठन बलियो नभएसम्म निर्वाचन जित्न नसकिने बताउँदै प्रचण्डले बस्तुगत र आत्मगत परिस्थितिको सूक्ष्म विश्लेषण गरेर चुनावको तयारीमा जुट्न समेत निर्देशन दिए । “जनताको घर घरमा जानुस, हरेक जनतालाई भेट्नुस, उनीहरुलाई हाम्रो कुरा बताउनुस् । हामी अरु भन्दा किन फरक भन्ने कुरा बुझाउनुस् । चुनाव पनि क्रान्तिकै मोर्चा हो, त्यसैले बलियो संगठन बनाउन कस्सिनुस् ।” प्रचण्डले बताए ।

चुनाव जित्नकै लागि जोसँग समेत एकता गर्न नसकिने बताउँदै प्रचण्डले जनयुद्द र जनआन्दोलनका उपलब्धि स्वीकार्ने शक्तिबाहेक अरुसँग एकता नगर्न निर्देशन दिए । “चुनाव जित्नका लागि जोसँग पनि एकता गर्न मिल्दैन । हाम्रा लागि चुनाव एउटा कार्यनीति मात्रै हो ।” प्रचण्डले भने, “अहिलेको संविधानले संस्थागत गरेका उपलब्धि स्वीकार गर्न नसक्नेसँग एकता हुन सक्दैन ।”

प्रचण्डले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रविरोधी शक्तिसँग एकता गर्न नहुने बताए । “जसरी सकिन्छ चुनाव जित्ने हो भने हामी र अरुमा फरक कसरी हुन्छ ।” उनले भने, “हामी जुन वर्गको कुरा गर्छौ, त्यो वर्गसम्म पुग्यौं र जनतासँग एकाकार भयौं भने पहिलो शक्ति बन्न गारो हुँदैन । तर यसका लागि बलियो संगठन आवश्यक पर्छ ।”

सरकार गठनका बेला नमूना काम गरेको उल्लेख गर्दै प्रचण्डले जनतासम्म ती कुराहरु पुर्याउन समेत निर्देशन दिए ।

बैठक जारी रहेको छ । बैठकको निश्कर्षलाई भोली पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने माओवादी केन्द्रले जनाएको छ ।

कमेन्ट गर्नुहोस्