कनकाईमा छिटो र पारदर्शी सेवा दिने प्रतिबद्धता

बिर्तामोड, साउन ७ । कनकाई नगरपालिकाका जनप्रतिनिधिले नागरिकको सेवालाई छिटो–छरितो, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नगर निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
नगरबासीको भावनालाई आत्मसाथ गरी जनसरोकार र विकास निर्माणका कार्य प्राथमिकताका आधारमा अगाडि बढाउने उनीहरुको साझा प्रतिबद्धता छ ।

संवाद समूह झापाको संयोजनमा आज शनिबार कनकाई–१ स्थित नगरपालिकाको कार्यालयमा भएको छलफलमा जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

काम गर्ने प्रक्रियामा कुनै विवाद तथा द्वन्द्व उत्पन्न भएमा आपसी छलफल र संवादका माध्यमबाट त्यसको समाधान गर्ने समेत उनीहरुले प्रतिबद्धता जनाएका छन् । कनकाई नगरका प्रमुख, उपप्रमुख र नौ वटै वडाका वडा अध्यक्षले आफ्नो नगरको समस्या तथा चुनौति र कामको प्राथमिकताबारे जानकारी गराएका थिए ।

कनकाई नगरमा सबै जनप्रतिनिधिले मुख्य समस्याको रुपमा ऐलानीप्रति जग्गाको व्यवस्थापन, नदी नियन्त्रण, सडक, खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षा, सुरक्षा रहेको बताएका छन् ।

कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेलले वडा नं. १, ३ र ९ बाहेक अन्य वडामा वडा कार्यालय समेत नरहेको, कर्मचारी समेत अभाव रहेको बताए । उनले वडा नं. ३, ८ र ९ बाहेक अन्य वडामा प्रहरी कार्यालय तथा पोष्ट नरहेको, वडा नं. ३, ५ र ९ वाहेक अन्य वडामा स्वास्थ्य उपचार केन्द्र नरहेको जनाए ।

त्यस्तै वडा नं. १, २, ३ र ४ मा खानेपानीको सुविधा रहेको तर त्यो पूर्ण नरहेको, वडा नं. ६, ७, ८ र ९ मा खानेपानी आयोजना निर्माणधीन रहेको पोखरेलको भनाइ थियो ।

‘ऐलानी जग्गाको व्यवस्थापन, नदी नियन्त्रण, स्वच्छ खानेपानी सुविधा, विद्युतीकरण, शैक्षिक गुणस्तर वृद्धि, सडक, पर्यटन, कृषिको व्यवसायीकरणलाई नगरको कामको प्राथमिकतामा राखेका छौं’ – पोखरेलले भने– ‘कनकाईलाई समृद्ध बनाउन अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछौं’ जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि तत्काल परिवर्तनको अनुभूति दिलाउन वडा अध्यक्षहरु जनताको विभिन्न कामको सिफारिसका लागि खटिएको, सडकको खाल्डाखुल्डी पुरिएको पोखरेलले जनाए ।

त्यस्तै कार्यालयमा पहिले आउने सेवाग्राहीको कामलाई पहिलो प्राथमिकतामा राखिएको, मजदुरका छोराछोरी स्याहारका लागि दुईवटा शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र स्थापनाको निर्णय गरिएको, खर्च अभावमा कसैले मृत्युवरण गर्नु नपरोस भनी तत्कालका लागि पाँच लाख रुपैयाँको मजदुर हितकोष स्थापना गरिएको पोखरेलले बताए । अब कनकाई नगरमा नगरपालिकाको अनुमति बिना जग्गा प्लटिङ गर्न नपाउने व्यवस्था गर्न लागिएको पनि उनले बताए ।

कनकाईकी नगर उपप्रमुख मञ्जु प्रसाईले मादकपदार्थ सेवन गर्ने पुरुष र अन्यबाट महिला हिंसा बढिरहेकोमा चिन्ता व्यक्त गर्दै महिलालाई न्याय र सुलभ ढंगले सेवा प्रवाह गर्ने बताइन् । उनले कानूनी सहायताको व्यवस्था गरी पीडित नगरबासीलाई तत्काल न्याय दिने बताउँदै नगरका विभिन्न समस्याबारे जानकारी गराएकी थिइन् ।

वडा नं. १ का अध्यक्ष रोशनराज पोखरेल, वडा नं. २ का अध्यक्ष पर्शुराम गिरी, वडा नं. ३ का अध्यक्ष रुद्र चिमरिया, वडा नं. ४ का अध्यक्ष गोविन्द पौड्याल,वडा नं. ६ का अध्यक्ष लक्ष्मीप्रसाद ओली, वडा नं. ७ का अध्यक्ष लीला कन्दङ्वाले चुनावताका उम्मेदवारले गरेको प्रतिबद्धता अनुसार अहिले अव्यवस्थित बसोबास र ऐलानी जग्गा भएकाहरुले ‘अब हाम्रो धनीपूर्जा कहिले आउँछ’ भनी सोध्न थालेकोेले मुख्य समस्याको रुपमा त्यसलाई लिएर समाधानका लागि प्राथमिकता दिएको बताए ।

वडा नं. ८ का अध्यक्ष प्रेम कटुवाल, वडा नं. ९ का अध्यक्ष प्रेमप्रसाद राजवंशीले विरीङ नदी नियन्त्रण, गरिबी न्यूनीकरण वडाको प्रमुख समस्या रहेको बताए । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए । तस्वीरः कमल(विनोद) पाण्डे

कमेन्ट गर्नुहोस्