माओवादी आन्दोलनमा विचौलियाको प्रभाव

मणिकुमार श्रेष्ठ ‘सिजन’
‘कुनै वेला विश्वका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु भन्ने गर्दथे हिमालयतिर फर्केर हेर नयाँ किरण उदाउँदैछ ।’ यो भनाई त्यो वेला प्रतिपादन भएको हो । जुनवेला नेपालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा सर्बहारा जनताको मुक्तिको लागि महान जनयुद्ध चलिरहेको थियो । त्यही जनयुद्धलाई आधार मानेर अन्तर्राष्ट्रिय कम्युनिष्ट शक्तिहरुले त्यसो भन्ने गर्दथे ।

जुन भनाईले माओवादी आन्दोलनलाई एउटा उचाईमा पु¥याएको थियो । भनेर विश्वास गर्न सकिन्छ । त्यही उचाईलाई प्रयोग गरेर माओवादी जनयुद्धले नेपाली भुमिमा निकै ठूलो सांस्कृतिक र सामाजिक सुधार गरेको थियो । जसलाई अन्तर्राष्ट्रिय जगतका क्रान्तिकारी शक्तिहरुले समेत साथ दिएका थिए । सायद त्यही भएर होला तीव्र गतिमा भईरहेको प्रविधीको विकासमा समेत माओवादी जनयुद्धले उचाई लियो । जसलाई विश्वका शक्तिशाली देशहरुले समेत स्वीकार गर्न बाध्य भए । माओवादीले नेपाली जनताको मुक्तिका लागि संर्घष गरेको रहेछ भनेर । यही कारणले माओवादीको संर्घष भनेको आतंककारी संगठनको आन्दोलन नभएको पुष्टी भयो । यसका साथै माओवादी शक्तिलाई आतंककारी शक्तिको रुपमा ठान्ने देशहरुले समेत पछिल्लो समय प्रगतिशील शक्ति रुपमा स्वीकार गर्न बाध्य भए ।

कतिपयले माओवादीको यही विचारलाई आत्मासाथ गर्दे अगाडि बढे भने कतिपयले माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी विग्रिएको आरोप लगाउदै नेकपा (माओवादी) संगै रहेको भाइचारा सम्वन्ध पनि तोडे । यसरी विश्वका क्रान्तिकारी कम्युनिष्ट संगठनहरुले नेकपा (माओवादी) संग भाइचारा सम्बन्ध तोडे भने कतिपयलाई यसलाई सफल रुपान्तरण र जनताको माग बमोजिम नेपालको माओवादी आन्दोलन अगाडि बढको भन्दै विश्वका विभिन्न देशमा रहेको भाइचारा संगठनहरुले सम्बन्ध समेत विस्तार गरे ।

तत्कालिन नेकपा(माओवादी) स्थापना भएपछि २०५२ साल फागुन १ गतेबाट सुरु भएको महान जनयुद्ध विभिन्न चरणको विषण युद्ध वार्ता अनि फेरि युद्ध पुनः वार्ता हुदै २०६३ सालबाट शान्ति प्रक्रियामा आयो । बास्तवमा भन्ने हो भने, माओवादीले सुरु गरेको जनयुद्धदखि नै माओवादी पार्टीभित्र विभिन्न प्रकारका विचौलियाको प्रभाव रहेको थियो । त्यही विचौलियाहरुको झुण्डले माओवादीलाई विभिन्न प्रकारको विचलनमा पार्दै पुनः जोड्दै अगाडि आएको तितो यर्थाथता हामी माझ अहिले पनि ताजै छ ।

पार्टीले सुरु गरेको भिषण वर्गसंर्घष र वलिदानीलाई लत्याउनेहरु पनि आज माओवादीमा रहेका छन् । जसले माओवादीलाई जसरी भए पनि कमजोर पार्न खोजिरहेका छन् । त्यसैको फलस्वरुप तत्कालिन नेकपा माओवादी अहिले एकीकृत नेकपा (माओवादी) हुदै अहिले नेकपा (माओवादी केन्द्र)मा रुपान्तरण हुदै आएको छ नाममा । यसरी माओवादी वैकल्पीक राजनीतिक शक्तिको रुपमा स्थापना भएको २२ वर्षको दौरानमा माओवादी पार्टी निकै कमजोर भएको छ । भने, यसका नेताहरु निकैे शक्तिशाली ।

यसको मुल्यकारण भनेको नै माओवादीभित्र रहेका विभिन्न प्रकारका विचौलियाहरुको प्रभाव नै हो । माओवादी पार्टीले सुरुवात गरेको जनयुद्धदेखि हालसम्म आउँदा के कस्ता विचौलियाहरुको प्रभाव माओवादीमा रहन गयो र अहिले खासगरी कस्तो विचौलियाहरुले माओवादीलाई कमजोर बनाउन लागि परेका छन् । सो विषयमा यस लेखमा प्रष्ट्रयाउने कोशिश गरिएको छ ।

माओवादी आन्दोलनको समीक्षा
आफैमा क्रान्तिको आन्दोलन भनेको निकै भयानक हुने गर्दछ । जसले यस प्रकारको भयानक आन्दोलनलाई समेत आत्मसाथ गर्न सक्छ उसले बास्तवमा जनताको वास्तविक अधिकारलाई स्थापित गराउँन सक्छ । तर, यस प्रकारको आन्दोलन र क्रान्तिलाई स्वीकार गर्न नसक्नेहरुले स्वाभाविक रुपमा जनताको अधिकारको नाममा आफ्नो दुनो सोझ्याउँने काम मात्र गर्दछन् । माओवादी आन्दोलनको समीक्षा गर्दा यी दुवै प्रकारका आचरण अहिलेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा रहेको छ । जसलाई माओवादी आन्दोलनमा विचौलियाको संंज्ञा दिन सकिन्छ ।

वास्तवमा माओवादी जनताको सारथी नै हो । र, हिजो पनि थियो । हिजो माओवादीले आफुभित्र रहेको गैर माओवादी आचारणलाई निस्तेज पारेको थियो भने आज त्यही आचरणले माओवादीलाई गाँजेको छ । जुन माकुरोको जालो जस्तो भएको छ । ‘माकुरोको जालो भनेको त्यो हो । माकुरोले त्यही जालोमा बसेर पोथी माकुरो छन् भने भालो माकुरोसंग सहवास गरी सन्तान उत्पादनको क्रममा लाग्छीन । तर, जव सन्तान उत्पादनको अन्तिम चरणमा पोथी माकुरो पुग्छिन त्यसवेला भने आफ्ना वच्चाहरुले उनैलाई खाने काम हुन्छ । ठिक त्यसै गरी यो खालको प्रवृति गंगटोमा पनि हुने गर्दछ । मात्र फरक गंगटाले जालो बनाउदैन् । माकुरोले जालो बनाउछ । तर दुवैका सन्तानले आमालाई सिध्याउने काम गर्छन । यो प्रक्रिया निरन्तर चलिरहन्छ ।’

अहिले नेपालको माओवादी आन्दोलनको समीक्षा गार्द गंगटो प्रवृति वढि भएको हो कि जस्तो देखिन्छ । जुन अघि वढेजस्तो पनि देखिन्छ अनि पछि परेको जस्तो पनि देखिन्छ बास्तवमा अघि बढेको हो कि, पछि हटिरहेको छ सो बारेको प्रष्ट रुपमा माओवादी आन्दोलनको समीक्षा हुन सकिरहेको छैन । यदि प्रष्टरुपमा माओवादी आन्दोलनमा समीक्षा हुने हो भने नेपाली जनता किन माओवादी इतरमा गईरहेका छन् । त्यसैले आजको दिनमा हरेक कोणबाट माओवादी आन्दोलनको समीक्षा सही रुपमा हुन जरुरी छ । जसले माओवादी शक्तिलाई पश्चगमन भन्दा पनि अग्रगमन तर्फ लैजान सकोस । र जनताको भविष्य निर्माण गर्न सकोस् ।

के हो विचौलिया ?
विचौलिया भनेको पार्टीको नाममा आफ्नो व्यक्तिगत स्वार्थपुर्ति गर्ने व्यतिm वा समुहलाई जनाउँछ । सामान्य अर्थमा हामीले विचौलिया भनेको आफ्नो पार्टी भन्दा पनि अरुको पार्टीलाई राम्रो देख्ने तर पार्टीलाई खोक्रो बनाउने अभियानमा तल्लिन रहने व्यक्तिलाई नै विचौलिया भनिन्छ । यसका साथै आफुमात्रा पार्टीमा क्रियाशील रहेको छु । अरु चाँही पार्टीका कार्यकर्ता नै होइनन् भनेर सोच्ने अर्को प्रकारको विचौलिया हो ।

वास्तवमा विचौलियाको परिभाषाको कुरा गर्दा विभिन्न व्यक्तिहरुले यसरी गरेका छन् –‘विचौंलिया भनेको त्यो हो । जसले कुनै पनि संस्था वा संगठनको विघटन गराउने तर्फ तल्लिन रहने व्यक्ति वा समुहलाई विचौलिया भनिन्छ । भने, व्यापारको क्षेत्रमा व्यापारी र उत्पादकको बीचमा रहेर मुनाफाको पछि लाग्ने व्यक्ति पनि विचौलिया हुन । नेपाली राजनीतिमा भने आफ्नै पार्टीको नेतालाई विभिन्न प्रकारको प्रलोभनमा पारेर विभिन्न प्रकारका फाइदा लिने व्यक्ति वा समुहलाई नै विचौलिया भनिन्छि ।’

कस्ता छन् विचौलियाहरु ?
माओवादी पार्टी स्थापना भएको २२ वर्षको अबधीमा नै यस्तो संस्कार मौलायो । जुन सस्कार अन्य पार्टीमा पहिले नै मौलाएको थियो । नेकपा एमालेले २०५३ सालमा नै भन्ने गरेको कथन ‘राजनीति जोगी हुनका लागि गरिने होइन’ अहिले माओवादी नेताहरुले सबै भन्दा वढि व्याख्या गर्ने गरेका छन् । सायद त्यही भएर होला माओवादीमा विचौलियाहरुको प्रभाव बढ्दै गएको देखिन्छ । विशेष गरी माओवादी आन्दोलनमा तीन प्रकारका विचौलियाहरुको प्रभाव देखिएको छ ।

१. सक्रिय विचौलिया

माओवादी आन्दोलनमा सक्रिय किसिमका विचौलियाहरु रहेका छन् । जसले माओवादी आन्दोलानलाई जसरी पनि निस्तेज पार्न खोजिरहेका छन् । उनीहरु यो वा त्यो रुपमा माओवादी भित्र विभिन्न प्रकारका विवादहरु उत्पन्न गराउन चाहन्छन् । त्यस प्रकारका विचौलियाहरु माओवादी आन्दोलनमा वढि भएका छन् । जसको कारणले गर्दा यो वा त्यो रुपमा पार्टी तथा आन्दोलनमा सिण्डिकेट नै लागु गर्न खोज्छन् ।

यस प्रकारको विचौलियाहरुले पार्टीभित्र आफ्नो गुठ सिर्जना गर्न खोज्ने र जसरी हुन्छ पार्टी आन्दोलनमा आफुलाई हावी बनाउन खोज्ने प्रवृतीका हुन्छन् । मुख्य नेताको वरीपरी मात्र रहने । जूतोसुकै मुल्य चुकाएर भए पनि पार्टीमा आफ्नो हैसियत स्थापित गराउनका लागि पैसाको खोलो बगाउन पनि तयार रहन प्रवृति नै सक्रिया विचौलिया प्रवृति हो । यस प्रकारका विचौलियाहरुले आफुले चाहेको नेता तथा कार्यकर्ताहरुको पालनपोषणका साथै देश विदेश भ्रमणमा समेत पठाउने र आफ्नो वरी परि राखिरहने गर्दछन् । अलिकति मात्र आफ्नो विरोध गरेको खण्डमा सो व्यक्तिलाई आफ्नो समुहबाट हटाएर जिम्मेवार विहिन बनाउन खोज्ने यस प्रकारको विचौलियाहरु माओवादी केन्द्रमा क्रियाशील रहेका छन् ।

 

२. सुसुप्त विचौलिया 
माओवादी आन्दोलनमा अर्को खतरनाक विचौलिया छन् । जसले आफ्नो पार्टीलाई हराउनका लागि अरु पार्टीबाट मोटो रकम लिने र व्यक्तिगत स्वार्थपुर्ति गर्ने यो सस्कारले पनि माओवादी आन्दोलनको विरासतलाई भत्काउने खतरनाक खेल खेलेको छ । जुन अत्यन्तै सुसुप्त तरिकाले माओवादी केन्द्रमा मौलाएको छ । आफ्नो निजी सम्पति सबै त्यागेर पार्टी आन्दोलनमा होमिएका नेताहरु अहिले आलिसान महल बनाएर बसेका छन् । त्यतिमात्र होइन पार्टी आन्दोलनका लागि जिवनको वलिदान दिन तयार भएका नेताहरुको आज सहरबजारमा घर–घडेरी अनि विगाका–विगा जग्गा छन् । अनि भन्छन् मैले घरबार त्यागेर पार्टी आन्दोलनमा लागेको हो । तर, कसरी आयो त्यो सम्पति ? यसमा जनताले औला उठाईरहेका छन् । सायद त्यसै भएर माओवादी नेताहरुले भन्ने गरेका होलान राजनीति जोगी हुनका लागि गरेको होइन । मुक्ति र मृत्युको कसम खाएर माओवादी आन्दोलनमा होमिएका नेताहरु कस–कसले यस प्रकारका कामहरु गरेका छन् । सो विषयमा यस लेखमा भनिरहनु पर्दैन । पुर्णिमाको चन्द्र झै छर्लग्गै छदैछ । हामी माओवादी नेताहरुको वोली तथा हिडाई साथै आचरणबाट नै थाहा पाउन सक्छौं कुन नेताले कस्तो काम गर्दछन् ।

यसका साथै माओवादीमा सुसुप्त तरिकाले विभिन्न प्रकारका व्यक्तिवाद र क्षेत्रवादको सिण्डिकेट पनि हावी हुदै गएको छ । सायद त्यही भएर होला माओवादी भित्र कहिले रोल्पावाद र कहिले किरातीवाद जस्ता सिण्डिकेटीय प्रथा हावी हुदै गएको छ । यसैगरी माओवादीमा शान्ति प्रक्रियामा आएको १० वर्षसम्म पनि जनयुद्धमा संस्थागत मान्यतालाई आत्मसाथ गर्नुको साटो जनयुद्ध लडेका र नलडेका जस्ता विवाद गर्ने यो अर्को प्रकारको सुसुप्त विचौलिया प्रवृति हो । जसलाई माओवादीको शीर्ष नेतृत्वबाट नै प्रश्रय दिएका छन् । जुन माओवादीको हरेक बैठक तथा भेलाहरुको देखा पर्ने गर्दछ ।

३. मृत विचौलिया 
जुन अत्यन्तै खतरान खालको विचौलियाहरु छन् । जसलाई बाहिरी रुपमा देख्न सकिदैन । पार्टीभित्र पनि निकै इमान्दार नेताहरुको रुपमा चिनिन्छन् । अनि शालिन तथा भद्र व्यक्तिको संज्ञा दिइन्छ । जुन पार्टीको कुनै विवादमा संलग्नता देखिए जस्तो देखिदैन । तर, भित्रभित्रै काठलाई धमिराले खाए जस्तो पार्टी संगठनलाई नै धरासायी बनाइरहेका हुन्छन् । यो भनेको मृत प्रकारका विचौलियाहरु हुन । जुन पार्टीको लागि अत्यन्तै घातक हो । यस प्रकारको प्रवृति परापुर्व कालमा डाइनोसरका देखिएको थियो जसलाई अहिले इतिहासमा मात्र हेर्न र अध्ययन गर्न सकिन्छ । तर, त्यसलाई अवलोकन भने गर्न सकिदैन् ।

निष्कर्ष
नेकपा माओवादी केन्द्रले २०५२ सालदेखि यता विभिन्न प्रकारका आरोह अवरोहको सामना गर्दे आएको छ । जस्तो कि माओवादीभित्रका बौद्धिक नेताका रुपमा चिनिएका डा. बाबुराम भट्टराई आज माओवादी पार्टी मात्र होइन उनले त कम्युनिष्ट सिद्धान्तलाई नै लत्याएर गए र अहिले अर्को कम्युनिष्ट सिद्धान्त नै त्यागेका नेता अशोक राईसंग उनको बढि साठगाठ छ । यस्ता प्रवृति भनेको नेपालको कम्युनिष्ट आन्दोलन र माओवादी आन्दोलनको मृत विचौलिया हुन् । जसले नेपालको कम्युनिष्ट आन्दोलनलाई एउटा जातीय आन्दोलनमा लगेर जोड्ने काम गरे । अनि उनैसंग सति जान खोजिरहेको बाबुरामको बारेमा यो भन्दा बढि चर्चा गर्न उपयुक्त छैन् । किन भने उनी माओवादी आन्दोलनको मृत विचौलिया हुन । जसले माओवादी आन्दोलनको सदुपयोग गरेर आफ्नो स्वार्थका लागि जस्तासुकै निर्णय लिन पनि तयार भए ।

यसका साथै अहिले माओवादी केन्द्रमा विभिन्न प्रकारका विचौलियाहरु देखिएको छन् । जुन वुँदागत रुपमा माथि उल्लेख गरिएकै छ । माओवादी भित्रका विचौलिया प्रवृति भएको नेताहरुको कारण अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई असफल बनाउन खोजिरहेका छन् । त्यसकारण माओवादीको अहिलेको जम्बो केन्द्रीय समितिलाई घटाएर बढिमा ९९ सदस्यीय बनाऔं । यसमा माओवादीको भविष्य छ । साथै यसले माओवादी नेताहरुको आचरण र व्यवहारमा सुधार गर्न सकिन्छ । अन्त्यमा एउटा अठोट गरौ – माओवादी भित्रका विचौलिया प्रवृतिको खालेर विरोध गरौ यसप्रकारको विरोध गर्दा कसैले गुठ तयार गर्न खोज्यो भन्छ भने त्यसको पनि प्रतिवाद गरौ । विचौलिया प्रवृतिको बहिस्कार गरौ ।

कमेन्ट गर्नुहोस्