माओवादी केन्द्रले सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै

काठमाडौं, साउन ८ । ने.क.पा. (माओवादी केन्द्र)ले शनिबार सम्पन्न सचिवालय बैठकका निर्णयहरु अाज  सार्वजनिक गर्दैछ । प्रवक्ता पम्फा भुसालले सूचना निकालेर पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा दिउँसो २ बजे विशेष पत्रकार सम्मेलनको आयोजना गरिएकाे जानकारी  दिइन ।

हिजाे सम्पन्न बैठकले  पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा अन्तर्घात गरेका पार्टीका नेता–कार्यकर्तामाथि माओवादीले कारवाही गर्ने निर्णय गरेकाे छ । पार्टी केन्द्रीय सचिवालयको विस्तारिक वैठकमा बोल्दै प्रचण्डले  भने ‘वागी उम्मेदवार हुने, अन्तर्घात गर्ने र अर्को पार्टीको पैसा खानेलार्इ कारवाही गरिन्छ ।

६ वटै प्रदेशमा तीन–तीन सदस्यीय कार्यदल बनाएर उनीहरुमाथि छानविन हुन्छ । दोषी पाइए कारवाही हुन्छ ।’ प्रचण्डले भने । विभिन्न जिल्लाबाट अन्तर्घातका उजुरी आएपछि माओवादी दोषीमाथि कारवाही गर्न कार्यदल बनाउने निर्णय गरेको हो ।

माओवादी वैठकले २ नम्वर प्रदेशको चुनावी तयारीका लागि साउन १० गते अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।  त्यसबाहेक राम्रो जित भएका जिल्लामा त्यहाँका मतदाताहरुलाई संगठनमा ढाल्न पनि जोड दिने माओवादी निर्णय छ ।

वैठकमा प्रचण्डले अवको चुनावमा संघीयता विरोधी र गणतन्त्र विरोधीसँग तालमेल नहुँने बताएका छन् ।

यसबाहेक माओवादीले संघीय चुनावको प्रतिबद्धता पत्रको मस्यौदा बनाउन नारायणकाजी श्रेष्ठ प्रकाशको संयोजकत्वमा समिति बनाएको छ । यसबाहेक प्रदेश सभाको चुनावका लागि उम्मेदवार छनौटका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा समिति बनाएको छ ।

माओवादीले साउन २० देखि २२ गतेसम्म पार्टीका तर्फबाट निर्वाचित प्रतिनीधिहरुको भेला गर्ने निर्णय गरेको छ ।

 

कमेन्ट गर्नुहोस्