माओवादी केन्द्रकाे ठहर– चुनाव खर्चिलाे र बोझिलो, पूर्ण समानुपातिक प्रणालीको माग

काठमाडौं, साउन ८ । नेकपा माओवादी केन्द्रले पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा ‘लबिङ’ गर्ने निर्णय गरेको छ ।

चुनावी समीक्षा तथा पार्टी संगठनबारे छलफल गर्न आयोजित सचिवालयको बिस्तारित बैठकपछि माओवादीले यस्तो निर्णय गरेको हो ।

अहिलेको चुनाव निकै खर्चिलो र बोझिलो भएकोले पूर्ण समानुपाति निर्वाचन प्रणाली लागु गर्नुपर्ने माओवादीको ठहर छ ।

माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका पक्षमा समेत निर्णय गर्दै अन्य राजनीतिक दलसँग छलफल अघि बढाउने जनाएको छ ।

बैठकपछि जारी विज्ञप्तीमा भनिएको छः

राजनैतिक स्थिरता, आर्थिक विकास र समृद्धि एवं राष्ट्रिय एकताको सुदृढिकरणका लागि बैठकले जनताद्वारा प्रत्यक्ष निर्वाचत कार्यकारी प्रमुख अनिवार्य रहेको तथ्यलाई पुनः उजागर गर्दै त्यसका निमित्त अगाडि आउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनतालाई अपील गरेको छ ।

साथै सर्वसाधारण जनताले प्रतिष्पर्धा नै गर्न नसकिने गरि खर्चिलो र बोझिलो बन्न र्गएको वर्तमान निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत सच्च्याउन पनि बैठकले सबै राजनैतिक दलहरुसँग छलफल अगाडि बढाउने निर्णय गरेको छ ।

पाँच दिनसम्म चलेको नेकपा माओवादीको सचिवालयको विस्तारित वैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन हाल जारी रहेको छ ।

कमेन्ट गर्नुहोस्