नक्कली नोटसहित दुई जना पक्राउ

विराटनगर, साउन ८ । मोरङको विराटनगरबाट प्रहरीले ठूलो मात्रामा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

स्थानीय निर्वाचनको मौका छोपी प्रहरीको आँखा छलि फाइदा उठाउँदै नक्कली नोटको कारोबार गर्ने विराटनगर ६ का २२ वर्षीय संगीत महतो र विराटनगर–७ का २१ वर्षीय सुमन तालाङ्गीलाई प्रहरीले विराटनगर ९ स्थित रघुनाथ पेट्रोलपम्प पछाडिको गल्लीबाट पक्राउ गरेको हो।

प्रहरीले खोजतलासीको क्रममा महतोको साथबाट पाँच सय दरका १ सय ५० थान (७५ हजार रुपैयाँ) र तालाङीको साथबाट ५ सयदरकै १ सय ९८ थान (९९ हजार रुपैयाँ ) नक्कली नोट नियन्त्रणबाट लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले पक्राउ परेका व्यक्ति तथा नक्कली नोट सार्वजनिक गरेको हो। पक्राउ परेका दुवै जनालाई प्रहरीले खोटारुपैयाँ अचलन मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

कमेन्ट गर्नुहोस्