नयाँ शक्तिमा पनि अल्पमतमा बाबुराम, तुहियो फोरमसँग एकता

काठमाडौं, साउन ९ । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईको प्रस्ताव बहुमत केन्द्रीय नेताहरुले अस्वीकार गरेपछि संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया स्थगित भएको छ ।

पार्टीका केन्द्रीय र स्थानीय नेताहरुको चर्को असहमति हुँदाहुँदै पनि फोरमसँग एकता गर्नैपर्ने संयोजक बाबुरामको प्रस्ताव पारित नभएपछि आजदेखि शुरु हुने केन्द्रीय बैठकमा यो विषयले प्रवेश गर्न नपाउने भएको छ ।

पार्टी एकताका लागि बाबुरामले संयोजक पद समेत त्याग गरेर फोरमका उपेन्द्र यादवलाई अध्यक्ष मान्न तयार भएका थिए । दुबै पार्टीले एकताको प्रक्रियाबारे निर्णय गर्न कार्यदल गठन गरेर नाम र झण्डा समेत तय गरेको थियो ।

तर अन्तिम चरणमा आएर पार्टीभित्रकै केही नेताहरुले एकता भए पार्टी छोडने धम्की नै दिएपछि बाबुराम पछि हटेका हुन । नेतृत्वमा बाबुरामले ‘त्याग’ गरेपनि पदाधिकारी र अन्य पदमा नयाँ शक्तिका नेताहरुले अडान नछोडेपछि एकता प्रक्रिया तुहिएको नयाँ शक्तिका एक नेताले बताए ।

यही विषयमा पाटी संयोजक भट्टराईको नेतृत्वमा देवेन्द्र पोडेल, पर्शुराम तामाङ, पर्शुराम खापुङ, केशव दाहालले उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

फोरमको असार २४ र २५ गते पदाधिकारी बैठकले समेत तेस्रो चरणको स्थानीय चुनाव अगावै नया शक्तिसँग एकता गरिसक्ने निर्णय लिएको थियो । असार ३० र ३१ गतेको राजनीतिक समिति बैठकले त्यसै नीतिलाई अनुमोदन गर्‍यो भने गत मंगलबारसम्म चलेको केन्द्रीय समिति बैठकले नया शक्तिसग एकता गर्ने, आवश्यक ठाउँमा माओवादीलगायत विचार मिल्ने शक्तिसग चुनावी तालमेल गर्ने निर्णय पास गरेको थियो

स्थानीय तह निर्वाचनमा उल्लेख्य सफलता हासिल गर्न नसकेपछि संकटमा परेको नयाँ शक्तिले वैकिल्पक शक्ति आर्जनका लागि बिभिन्न पक्षसँग एकता गर्ने निश्कर्षमा पुगेको थियो । यद्यपी यो एकता वैचारिक भन्दा पनि तत्कालका लागि राष्ट्रिय राजनीतिमा खुम्चिएको स्थान प्राप्त गर्न देखिएको भन्दै पार्टीभित्र चर्को आलोचना हुँदै आएको थियो ।

नयाँ शक्ति नेपालभित्र एक तिहाई केन्द्रीय र आधा भन्दा बढी स्थानीय नेताहरुले पार्टी परित्याग गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्