१ लाख ७४ हजारका नक्कली नोटसहित दुई पक्राउ

मोरङ प्रहरीले १ लाख ७४ हजार रुपैयाँ नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । नक्कली नोट कारोबारीलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सार्वजनिक गरेको थियो ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार छ
प्रहरीले विराटनगर ९ स्थित रघुनाथ पेट्रोल पम्प पछाडीको गल्लीबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको हो । विराटनगर ६ का २२ वर्षिय संगित महतो र वडा ७ का २१ वर्षीय सुमन तोलाङीलाई पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले ५ सयको ३ सय ४८ थान नक्कली नेपाली रुपैयाँ र २ थान मोवाइल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्दिप भण्डारीले केही महिना अगाडि जिल्लामा नक्कली नोटको कारोबार भइरहेको सूचना आएदेखि सुराकी खटाएको बताए । ‘आफूले खटाएको सुराकी नक्कली नोटको कारोबार गर्ने संगित र सुमनसम्म पुगेपछि १ लाख ७४ हजार नक्कली नोटको लागि ७० हजार रुपैयाँ बुझाउनु पर्ने भनियो,’ उनले भने, ‘मोलमोलाई गरेपछि उनीहरुले ६० हजारमा दिन तयार भए र लेनदेन गर्ने ठाउँ तय भयो । उनीहरुले भने अनुसारकै ठाउँमा प्रहरी टोलीले एम्बुस थापेर पक्राउ गर्न सफल भएको हो ।’

नक्कली ५ सयको नोट सक्कलीभन्दा लम्बाइ केही सानो, वाटर मार्कमा लालीगुराँसको तस्बिर नदेखिने, एउटै नम्बरको धेरै नोट, अंग्रेजीमा लेखिएको ५ सय अलिकति फरक ठाउँमा लेखिएको र अंकको भाषागत शुद्धता नभएको, सेक्यूरिटी थ्रेडको सेतो रंग हातमा टाँसिने, खस्रो मधुरो रंगको देखिनु र सक्कली नोटभन्दा नक्कली अलिकति मोटो रहेको देखिएको छ ।

उनीहरुको प्रारम्भिक अनुसन्धानपछि यहाँका चल्तीका व्यक्तिहरुको नाम आएको तर उनीहरु फरार हुन सफल भएकोले खोजी कार्य भइहेको एसपी भण्डारीले बताए । ‘यसको ठूलो संजाल रहेकोले गम्भिर रुपमा अनुसन्धान गरेर पूर्वमा नक्कली नोटको कारोबार गर्ने सबै गिरोह तोडिने संकेत आएको छ,’ उनले भने, ‘हेरौं कतिसम्म सफल भइन्छ । यसका लागि आफ्नो धेरै समय र परिश्रम खर्च भएकोले अन्तिम निष्कर्षमा पुर्‍याएरै छाड्छु ।’

पक्राउ परेका दुबै जनालाई खोटा चलन मुद्दा अन्तर्गत जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान शुरु गरेको उनले सुनाए । खोटा चलन मुद्दा अन्तर्गत कसुर ठहर भए १० बर्षसम्म जेल सजाय हुने मुलुकी ऐनको खोटा चलन महलमा उल्लेख छ ।

एसपी भण्डारीलाई नक्कली नोटको कारोबार भइरहेको सूचना आउने बित्तिकै यहाँका प्रत्येक बैंकका प्रबन्धकहरुको नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय विराटनगरमा कार्यक्रम गरेर सचेत रहन आग्रह गरेको थियो । कार्यक्रममा नक्कली नोट पहिचान गर्ने बिधिसमेत सिकाएको थियो र त्यही आधारमा केही बैंकले छिटफुट रुपमा केही नक्कली नोट बरामद समेत गरेको उनले सुनाए ।

पूर्वका अन्य जिल्लामा यस्ता गिरोहहरु सक्रिय हुन सक्ने भएको वा यहाँ काम गर्नेहरुले अन्यत्र काम शुरु गर्न सक्ने भएकोले मातहत जिल्लाका सबै प्रहरी इकाइलाई सचेत रहन पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरका प्रमुख डिआइजी रमेशकुमार भट्टराईले निर्देशन दिएको बताए ।

कमेन्ट गर्नुहोस्