फेरि किन गर्यो माओवादीले प्रत्यक्ष कार्यकारीको माग, यस्तो रहेछ कारण ?

काठमाडौं, साउन ९ । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष कार्यकारीका लागि संघर्ष गर्ने औपचारिक निर्णय गरेको छ । पार्टी सचिवालयको बिस्तारित बैठकका निर्णय सुनाउँदै अध्यक्ष प्रचण्डले यसको जानकारी दिए । माओवादीले फेरि या मुद्दा किन उठायो त ? यसबारेमा कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा यस्तो उल्लेख छ–

शान्तिप्रक्रिया सुरु भएदेखि संविधानसभा अवधिभर माओवादीले आक्रामक रुपमा उठाएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दा फेरि उठाउने भएको छ । २ साउनदेखि शनिबारसम्म जारी माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकले दोस्रो संविधानसभाकालमा फेरिएको शक्तिसन्तुलनका कारण गतिरोध तोड्न यो मागमा सम्झौता गर्नुपरे पनि राजनीतिक अस्थिरता तोड्न पुरानै माग ब्युताउने निर्णय गरेको हो । अध्यक्ष दाहालले भने, ‘२००७ सालदेखि ०१७ सालसम्म कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न पाएनन् । पञ्चायतमा राजाले कुनै सरकारलाई पनि पाँच वर्ष काम गर्न दिएनन् । २०४७ पछि बहुदलकालभरि यस्तै रह्यो । गणतन्त्रका १० वर्षमा १० वटै सरकार आउने हो भने कसरी स्थिरता र विकास हुन्छ रु’

दाहालले राजा र विदेशी शक्तिले त्यस बेला बलियो सरकार नचाहने भएको विगत अझै दोहोरिन खोजेको भन्दै संविधान संशोधन विधेयक परिमार्जन गरी माओवादीले यो बहस अघि बढाउने बताए । तर यही माग राखेर संघर्ष भने नगर्ने उनको प्रष्टीकरण थियो । उनले माओवादी पार्टी सानो भएकाले अब राष्ट्रपति पाउने सम्भावना कांग्रेस, एमालेकै हुने हुदा अघि बढ्न उक्साए । चुनाव पद्दतिका कारण राजनीतिक अस्थिरता आएको बताउदै गर्दा दाहालले पछिल्ला वर्षहरुमा सरकार छिनाझपटीको मूख्य कारक आफैं भएको स्वीकारोक्ति भने गरेनन् ।

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदले चुनेको प्रधानमन्त्री पहिलो संविधानसभाले अनुमोदन गरेको थियो, तर कांग्रेस र एमाले पुरानो प्रतिबद्धताबाट पछि हटे,’ दाहालले आरोप लगाए, ‘गाउपालिका जित्न समेत ५९६ करोड खर्च भएको देखियो, प्रदेश र संघमा झन् के होला रु धनी, तस्कर, भ्रष्टले मात्रै जित्ने चुनाव अमेरिकी र हिन्दी सिनेमामा हेर्न पाइन्थ्यो, हाम्रोमा त्यही दिन आयो । अब पार्टी नै चुनाव लड्ने पूर्ण समानुपातिक पद्दतिमा जाऔं ।’ दाहालले काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने, सडक चौडा पार्ने कदम चाले पनि भोट नपाएको गुनासो गर्दै अब गाउकै जनताकहाँ फर्कने घुर्कीसमेत लगाए । अनि जसले जिते पनि उसले ‘संघीयता र समावेशी समानुपातिकता कार्यान्वयन गरी’ माओवादीकै काम गर्ने आत्मसन्तोष पनि लिए ।

दाहालले स्थानीय चुनावबाट आफ्नो पार्टीले पाएको मतलाई बाबुराम भट्टराइको नयाँ शक्ति र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले पाएको मतसित घुमाउरो किसिमले तुलना गर्दै अब एकता गर्नुपर्ने तर्क गरे । बैठकमा पेश भएको प्रस्ताव पढै उनले माओवादी केन्द्र मूलधार र वैकल्पिक शक्ति दुवै रहेको दाबी गरे । ‘माओवादी केन्द्र नै माओवादी धारको मूल शक्ति रहेको तथ्यलाई अनुमोदन गरेर सच्चा क्रान्तिकारी एकताबद्ध गर्ने पहल हाम्रो काँधमा आएको छ । जनताले हामीलाई वैकल्पिक शक्ति बनाए, अरुलाई त बनाएनन् । मूलधार पनि माओवादी केन्द्र नै हो भन्ने पनि अनुमोदन भयो ।’ उनले विगतको खुला समीक्षा गर्ने भन्दै वैद्य, भट्टराई र नेत्रविक्रम चन्दलाई एकतामा आउन अपिल गरे ।

कमेन्ट गर्नुहोस्