वाटर पम्प पाएपछि तरकारी कृषक उत्साहित

लोकेश धामी/ 

कैलाली,  साउन ९ । तरकारी खेती गरेर जिविकोपार्जन गर्दै आएका कैलालीका कृषकलाई सोलार वाटर पम्पको साथ मिलेको छ । सिचाइँ समस्या भोग्दै आएका उनीहरुले सोलार वाटर पम्प पाएपछि उत्साहित भएका छन् ।

गुजाराका लागि तरकारी खेतीमा निर्भर आफूहरुलाई सोलार वाटर पम्प बरदान सावित भएको कृषकहरुको भनाइ छ । धनगढी उपमहानगरपालिका–१९ खेदाका स्थानीय ४३ घरपरिवारले तरकारी खेतीको लागि गरिबी निवारण कोषको सहयोगमा सोलार वाटर पम्प जडान गरेका छन् ।

सोलार वाटर पम्पले आफूहरुको जीवनशैलीमै परिवर्तन ल्याइ दिएको तरकारी खेतीमा सक्रिय किसान खुशीराम चौधरीले बताए । बाढी विपद् जोखिमको हिसाबले सङ्कटासन्न मानिने खेदामा अन्य खेती प्रभावित हुने गरेको छ । स्थानीयहरु जनचेतना कृषक समूह गठन गरेर तरकारी खेतीमा सक्रिय भएका छन् । समूहमा आबद्ध प्रायः सबै जना तरकारी खेती गर्दै आएको सुनाउँदै समूहका अध्यक्ष रत्ना चौधरीले तरकारी खेतीले घर खर्च जोहो गर्न सजिलो भएको बताए । सानो क्षेत्रफलमा तरकारी खेती गर्ने किसानहरुका लागि सोलार वाटर पम्प निकै उपयोगी रहेको बताइएको छ ।

तरकारी खेती गर्दै आएका कैलारी गाउँपालिका–५ गोबरैलाका किसानका लागि पनि सोलार वाटर पम्प जडान गरिएको छ । २८ घरधुरीमा एक लाख ६८ हजार रुपियाको लागतमा सोलार वाटर पम्प जडान गरिएको हो । सिचाइँको समस्या भोग्दै आएका आफूहरुका लागि सोलार वाटर पम्प जडान भएपछि तरकारी खेती गर्न निकै सहज भएको सो गाउँका लाभान्वित परिवारले बताएका छन् ।

कमेन्ट गर्नुहोस्