नेपालले मलेसियालाई ५ विकेटले हरायो

काठमाडौँ, साउन ९। आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको छ ।

सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । विजयी लक्ष्य नेपालले २२.२ ओभरमा पाँच विकेट गुमाएर पुरा गर्यो ।

मलेसियाले प्रस्तुत गरेको ९० रनको लक्ष्य नेपालले मात्रै २२ दशमलव २ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि रोहित कुमार पौडेलले नटआउट ३४ तथा दिपेन्द्र सिंह ऐरीले नटआउट १९ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । नेपालका सन्दिप लामिछानेले सात विकेट लिए । यस्तै साहब आलमले दुई विकेट लिएका छन् ।

पाँच खेलमा चार खेल जितेको नेपालको ८ अंक भएको छ । नेपालले यसअघि भएको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । डबल राउण्ड रोबिन लिगका आधारमा सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग खेल्ने छ ।

यसअघि भएको अफगानिस्तानसँगको खेलमा भने नेपाल पराजित भएको थियो । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनौट हुनेछ ।

कमेन्ट गर्नुहोस्