निर्वाचनअघि नै विवेकशील नेपाली र साझा पार्टी एक हुने

काठमाडौ, साउन ९ । रवीन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टी र उज्ज्वल थापाको नेतृत्वमा रहेको विवेकशील नेपाली दलबीच एकीकरण हुने भएको छ । यसअघिका विभिन्न चरणमा भएका एकीकरण वार्ता सकारात्मक भएको भन्दै अब पार्टी एकीकरण हुने दुबै दलका नेताहरूले बताएका छन्।

विवेकशील नेपाली दलका प्रवक्ता रमेश पौडेलले आफ्नो दलको राजनीतिक संवाद समितिमार्फत साझा पार्टीसँग चलिरहेको एकता छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए। उनले भने, ‘हाम्रा वैचारिक मतभिन्नता छैनन्, हामी मूल्य मान्यताको राजनीतिमा विश्वास गर्छौँ । विभिन्न चरणमा हाम्रो छलफल चलिरहेको छ र यो सकारात्मक छ।’

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले प्रदेश र संघीय संसदको निर्वाचनलाई लक्षित गरी जतिसक्दो चाँडो एकता प्रक्रियालाई पूर्णता दिने गरी छलफल अघि बढेको बताए । उनले भने, ‘मूल्य मान्यता र राजनीतिक दृष्टिकोणका हिसाबले हामी नजिक छौँ, राष्ट्रिय मुद्दामा पनि हामीले विगतदेखि नै सहकार्य गरिरहेका छौँ, हामी एकता प्रक्रियाको प्रारम्भिक चरणमा छौँ ।’

प्रदेश र संघीय संसदको निर्वाचनअघि नै एकीकरण हुने गरी छलफल प्रक्रिया अगाडि बढाइएको प्रवक्ता आचार्यले बताए ।

कमेन्ट गर्नुहोस्