मन्त्रिपरिषदमा महिला समावेश नगरिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं, साउन ९ ।  नेपाल महिला सङ्घले छिट्टै बिस्तार हुन लागेको मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न माग गरेको छ ।

सङ्घले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले संविधानमा व्यवस्था भएअनुसार मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न सरकार समक्ष आग्रह गरेका  छन् ।

रेग्मीले भने, ‘संविधानमा नै महिलाको प्रतिनिधित्व उल्लेख गरिसकेको छ तर प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अहिले शेरबहादुर देउवाले नेतृत्व गरेको मन्त्रिपरिषदमा समेत महिलाको उल्लेख्य प्रतिनिधित्व हुन सकेन ।’

उनले महिला आन्दोलनका कारण देशमा संविधान निर्माण भएको भन्दै महिलाका लागि संविधानले तोकेअनुसारको अधिकार पाउनुपर्ने बताए ।

‘प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई भेटेर हामीले ३३ प्रतिशत महिलालाई मन्त्रिपरिषद्मा समावेश गर्नुपर्यो भनेर भनेका थियौँ, उहाँले विचार गर्छु भन्नुभएको छ, विचार गरेरमात्र पुग्दैन समावेश गर्नुपर्छ’ – अध्यक्ष रेग्मीले भने ।

अध्यक्ष रेग्मीले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको अधिकारलाई सुनिश्चित नगरे आफूहरु आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् । रासस

कमेन्ट गर्नुहोस्