आमाको मात्रै होइन, हजुर आमाको पनि नाम छ : गृहमन्त्री शर्मा

काठमाडौं, साउन ९ । गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय परिचयपत्रमा आमाको नाम छुटाइएको भन्ने विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएका छन । उनले पचियपत्रमा आमाको मात्रै नभए हजुर आमाको पनि नाम रहेको बताए

सोमबार व्यवस्थापिका–संसदको बैठकमा बोल्दै गृहमन्त्री शर्माले भने,‘राष्ट्रिय परिचयपत्रमा आमाको मात्र होइन, हजुरआमाको नाम पनि राखिएको छ ।” परिचयपत्र नेपाली र अंग्रेजी दुवै भाषामा बनाएको पनि उनले जानकारी दिए ।

गृहमन्त्री शर्माले देशका विभिन्न जिल्लामा महिला हिंसाका घटना भइरहेकोप्रति निकै मर्माहत भएको उल्लेख गर्दै भने, ‘महिलामाथिको हिंसा भत्र्सना गर्नेखालको मात्र नभई, मानव सभ्यताको कलंकका रुपमा रहेको छ, यस्ता मानवताविरोधी अपराध अनुसन्धान गरी कारबाही हुन्छ ।’

महिलामाथि हुने हिंसा रोक्नका लागि अपराध अनुसन्धान र सजाय हुँदाहुँदै पनि यस्ता घटना नरोकिएको भन्दै उनले भोजपुर, खोटाड बाँकेलगायत जिल्लामा घटेका घटनाका दोषीलाई सरकारले कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री शर्माले महिलामाथि हुने हिंसा रोक्नका लागि थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय सरकारमा समेत छुट्टै महिला डेस्क स्थापना गर्न जरुरी देखिएको हुनाले त्यो काम गर्ने तयारी भइरहेको बताए ।

दाइजोका नाममा जिउँदै जलाइनु, आफ्नै पतिबाट श्रीमतीको हत्या हुनु, बालिका बलात्कारजस्ता जघन्य अपराधका घटना बढ्दै गएकाले त्यसलाई रोक्न कडाभन्दा कडा कानुन बनाउन व्यवस्थापिका–संसद्अन्तर्गतका समितिलाई समेत गृहमन्त्रीले आग्रह गरे ।

कमेन्ट गर्नुहोस्