कांग्रेसले नाम छनोट गरे आज मन्त्रिपरिषद् विस्तार, नसके भोलि मात्रै

काठमाडौं ,साउन १०।  प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार (आज) दोस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्तारूढ नेकपा माओवादी केन्द्र र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले मन्त्रिपरिषद् विस्तारका लागि निरन्तर दबाब दिएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार कांग्रेसका समेत सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

प्रधानमन्त्री निर्वाचनमा देउवाको पक्षमा मतदान गरेको राप्रपाले भने प्रधानमन्त्रीका तर्फबाट सोमबार बेलुकासम्म सरकारमा सहभागी हुन कुनै प्रस्ताव नआएको जनाएको छ । मन्त्रालय र संख्या र संसद्मा विचाराधीन संविधान संशोधन एजेन्डामा कुरा मिल्न नसकेपछि प्रधानमन्त्रीले राप्रपाबिनै मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरेका हुन् ।

संविधान संशोधन एजेन्डा अलपत्र परेसँगै साना दलको सरकार प्रवेशसमेत तत्काल टरेकाले कांग्रेस, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकका तर्फबाट मात्र मन्त्रिपरिषद्मा सहभागिता रहने कांग्रेसका नेताहरू बताउँछन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमै नेताहरूले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको, पार्टीका विभागलाई पूर्णता दिन नसकेको भन्दै चर्को आलोचना भएपछि देउवाले बैठकलगत्तै मन्त्रिपरिषद् विस्तारको प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेसभित्र मन्त्रीका आकांक्षी बढी भएको र भौतिक योजना तथा यातायात मन्त्रालय देउवा पक्षले लिने कि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई दिने भन्ने विवाद मिल्न सकेको छैन ,राजधानीमा खबर छ ।

कांग्रेसले नाम छनोट गर्न नसके भोलि मात्रै

कांग्रेसभित्र मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसके पनि माओवादी केन्द्र र फोरमलाई समेटेर भए पनि सरकार विस्तार गर्ने तयारी रहेको प्रधानमन्त्री स्रोतले बतायो । सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतार सार्वजनिक रूपमै प्रधानमन्त्री देउवाले मंगलबार (आज) सम्मको समय मागेको बताएका थिए । प्रधानमन्त्रीलाइ भेटेर पटकपटक मन्त्रिपरिषद् विस्तारका लागि दबाब दिँदै आएका प्रचण्डले सार्वजनिक रूपमै आफूलाई समेत लाज लाग्न थालेको बताएका थिए ।

माओवादी केन्द्रले मन्त्रीहरूको टुंगो लगाइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि माओवादी र प्रधानमन्त्रीको आफ्नै दलबाट पनि आलोचना बढेको छ ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेस र मुख्य सत्तारुढ दल माओवादी केन्द्रबीच एक साताअगाडि नै मन्त्रालय भागबन्डामा सहमति जुटे पनि कांग्रेसले मन्त्रीको टुंगो लगाउन नसकेका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

दुई दलको सहमतिअनुसार कांग्रेसले १३ र माओवादी केन्द्रले नौ, लोकतान्त्रिक फोरमलाई तीन, राप्रपा सरकारमा आए उपप्रधानसहित चार र बाँकी मन्त्रालय साना दललाई दिने सहमति जुटेको थियो । फोरम लोकतान्त्रिकले अघिल्लो पटक पाएको मन्त्रालय नै पाउनुपर्ने माग राख्दै आएको छ । तर, सत्तारूढ दलले पर्यटन मन्त्रालयमा भने दाबी नगर्न आग्रह गर्दै आएको छ ।

गत २३ जेठमा कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसपछि उनले कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकबाट एक जना सहभागी गराएर सरकार विस्तार गरेका थिए ।

त्यसयता प्रधानमन्त्रीले सरकार विस्तारको तयारी अगाडि बढाए पनि आफ्नै दलभित्रको विवादका कारण सफल हुन सकेका छैनन् । माओवादी केन्द्रले भने सरकारमा पठाउने आफ्ना मन्त्रीको नाम लगभग टुंगो लगाएको बताएको छ । माओवादीबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठ, आशा खनाल, शिवकुमार मण्डल र टेकबहादुर बस्नेत मन्त्री बन्ने माओवादी स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्