जिल्ला समन्वय समिति कैलाली ९ सदस्यीय हुने

लोकेश धामी/ 

कैलाली, साउन १० । जिल्ला समन्वय समिति कैलाली ९ सदस्यीय बनाउने सहमति भएको छ । सोमबार बसेको सर्वपक्षीय बैठकले ९ सदस्यीय समिति बनाउने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जिल्ला समन्वय समिति गठनको तयारी थालिएको हो ।

दलहरुको सहमतिपछि मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलले ९ सदस्यीय जिल्ला समिति गठन गर्ने घोषणा गर्नुभएको थियो । स्थानीय तह प्रमुखमध्ये जेष्ठताका आधारमा रावलको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले ठूलो समन्वय समिति बनाउदा आर्थिक भार पर्ने भन्दै ८ सदस्यीय बनाउनु पर्ने प्रस्ताव गर्नुभयो । बहुमत सदस्यले ९ सदस्यीय समिति गठन गर्नुपर्ने मत राखेपछि ९ सदस्यीय समिति बनाउने निर्णय भएको हो ।

समितिमा ३ जना महिला सदस्य, दलित र अल्पसङख्यम मध्ये १ सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था छ । स्थानीय तहको निर्वाचनमा कैलालीमा ठूलो पार्टी बनेको नेकपा एमालेले समन्वय समिति गठन गर्ने बताइएको छ । १३ वटा तहमध्ये एमालेले ७, नेपाली काँग्रेसले ३, नेकपा माओवादी केन्द्रले २ र नेपाल लोकतान्त्रिक फोरमले १ तहमा जीत हासिल गरेको थियो । यसैविच जिल्ला समन्वय समितिको संयोजक कसलाई बनाउने भन्नेबारे जिल्लाको ठूलो दल नेकपा एमालेमा संभावित उम्मेदवारको खोजी र चर्चा शुरु भएको छ ।

संयोजक कसलाई बनाउने भन्ने चर्चा भएसंगै आकांक्षीका नामहरु बाहिर आउन थालेका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि मध्येबाट जिल्ला समन्वय समिति संयोजक र सदस्य चयन हुनेछन् र समन्वय समिति चयनका लागि स्थानीय तह प्रमुख र उपप्रमुखलाई मताधिकार हुने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्